केही खुकुलो पारेर काठमाडौं उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा थपियो
फाइल फाेटाे।
काठमाडौं। काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । हाल भइरहेको निषेधाज्ञालाई केही खुकुलो पार्ने गरी निषेधाज्ञा थप गर्ने निर्णय भएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले निषेधाज्ञा थप गरेको हो ।
यहाँ गएको बैशाख १६ देखि निषेधाज्ञा जारी छ । पछिल्लो पटक आज जेठ ३१ सम्मका लागि निषेधाज्ञा लम्बिएसँगै उपत्यकामा लगातार कम्तीमा डेढ महिना निषेधाज्ञा जारी रहने भएको छ । गएको जेठ १४ मा निषेधाज्ञालाई थप कडा पार्दै खाद्यान्न बिक्री वितरण गर्ने किराना पसल र डिपार्टमेन्टल स्टोर पनि बन्द गराइएको थियो । अब भने खाद्यान्न र डिपार्टमेन्टल स्टोरहरु खोल्न पाइनेछ । किराना पसल र डिपार्टमेन्टल स्टोरहरु बिहान ९ बजेसम्म मात्र खोल्न पाइनेछ । फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खोल्न पाइनेछ । अहिले लागू निषेधाज्ञा बिहीबार राती १२ बजे सकिनेछ । त्यसपछि नयाँ नियम लागू हुनेछ ।
विकास निर्माणको काम खुला गरिएको छ। विकास निर्माणका काम मजदूर राखेर दिउँसोमा गर्न पाइनेछ । निर्माण सामग्री ओसारपसारको कामको लागि रातको समय तोकिएको छ । यातायातमा पुरानै नियम कायम रहनेछ । निजी संघ–संस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय–पत्र चाहिने छ। व्यक्तिगत रुपमा सवारी चलाउन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास चाहिने छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment