एमाले स्थायी कमिटी बैठक फेरि स्थगित

डिसी नेपाल
२० जेठ २०७८ १४:३६
144
Shares

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ। आज अपरान्ह चार बजे बस्ने तय भएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

यसअघि पनि एमाले स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको थियो। पार्टीभित्रको असन्तुष्ट समूह माधव नेपाल पक्षसँगको वार्ता सकारात्मक भइरहेको चर्चाकाबीच स्थायी कमिटी बैठक आजका लागि तय भएको थियो।

विगत केही दिनदेखि निरन्तरत संवादमा रहेका प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली समूहका दोस्रो तहका नेता र नेपाल समूहका नेताहरु पार्टीलाई एकतावद्ध बनाएर लैजाने विषयमा सहमति नजिक पुगेको वार्तामा सहभागी नेताहरुले बताएका छन्।

‘अहिलेसम्म भएका छलफल सकारात्मक छन्, सकारात्मक परिणाम आउनेमा आशावादी छौं,’ निरन्तर छलफलमा रहेका एक नेताले डिसी नेपालसँग भने, ‘हामी सबैलाई सहभागी गराएर वृहत एकताको पक्षमा छौं, तर केही साथीभाइहरु भने अझै पनि त्यसका लागि तयार भएका छैनन्।’

स्रोतका अनुसार माधव नेपाल समूहका दोस्रो तहका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरु पार्टीलाई जेठ २, २०७५ कै अवस्थामा फर्काएर सहमति खोज्न तयार भएका छन्।

आजै माधव नेपाल समूहको बैठक बसिरहेको र थप तयारी गर्नुपर्ने भएका कारण बैठक स्थगित भएको हो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *