एनआरएनए कोरियाको पहलमा स्वास्थ्य सामग्री हस्तान्तरण

डिसी नेपाल
२३ जेठ २०७८ १२:५६

काठमाडौं । एनआरएनए कोरियाको विशेष पहलमा दक्षिण कोरियामा रहेका विभिन्न सङ्घसंस्था र नेपालीबाट सङ्कलित करिब ५० लाख कोरियन वन बराबरको कोरोना स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

दक्षिण कोरियाबाट उद्धार उडानका लागि नेपाल आइपुगेको कोरियन एयर ११२ यात्रुसहित कोरोनाको राहत सामग्री लिएर जुन ४ तारिख काठमाडौं आएको थियो ।

उक्त विमानमा एक लाख मास्क, तीन सय पिपिई सेट, दुई सय ४० बोतल स्यानिटाइजर, पाँच सय थान अक्सिमिटर र विभिन्न औषधि नेपाल पठाइएको एनआरएनए कोरियाका महासचिव बिमल सुवेदीले बताए ।

नेपाली दूतावासको समन्वयमा उक्त स्वास्थ्य सामान केएमई ट्राभल्सको विशेष पहलमा कोरियन एयरले निःशुल्क रुपमा नेपाल ल्याएको हो ।

महासचिव सुवेदीका अनुसार सङ्कलित रकममध्ये १७ थान अक्सिजन कन्सन्ट्रेटर पनि गैह्रआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को समन्वयमा छिमेकी राष्ट्र चीनदेखि नेपाल वायु सेवा निगमको विमानमार्फत जुन ५ मा नेपाल आइसकेको छ ।

कोरियास्थित नेपाली दूतावासले एक विज्ञप्तिमार्फत नेपालको कोरोनाविरुद्धको लडाइँमा ऐक्यबद्वता जनाउने सम्पूर्ण कोरियावासी नेपालीलाई धन्यवाद व्यक्त गरेको छ ।

एनआरएनए कोरियाको पहलमा कोरियामा रहेका नेपालीले यसअघि पनि कोरोना भाइरस प्रकोप नियन्त्रणमा सहयोग सङ्कलन गरी ठूलो परिमाणमा कोरोना जाँच गर्ने किटलगायत अन्य स्वास्थ्य सामग्री नेपाल पठाएको थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *