काँग्रेसले बोलायो पदाधिकारी बैठक
फाइल
काठमाडौं। नेपाली काँग्रेसको पदाधिकारी बैठक शनिबार बस्ने भएको छ। सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनका विषयमा छलफल गर्न शनिबार दिउँसो २ बजेका लागि पार्टीका पूर्व तथा वर्तमान पदाधिकारीको बैठक बोलाएका हुन्।
आगामी भदौसम्म जसरी पनि महाधिवेशन गर्नुपर्ने कानुनी बाध्यतामा रहेको काँग्रेसको असारमा स्थानीय तहमा अधिवेशन हुनुपर्ने कार्यतालिका छ। तर, हालसम्म पार्टीको क्रियाशील सदस्यता वितरण तथा नवीकरणकै काम सकिएको छैन। त्यसैले महाधिवेशनको कार्यतालिका नै प्रभावित बनेर भदौ ७ देखि १० सम्मका लागि तोकिएको महाधिवेशन नै प्रभावित हुने जोखिम बढेपछि सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।
हालै सभापति देउवाले एक वक्तव्य जारी गर्दै भदौमै महाधिवेशन गर्न आफू पूर्णप्रतिवद्ध रहेको जनाएका थिए। तर, कोरोना महामारीका कारण कुन विधिबाट महाधिवेशन गर्ने भन्ने विषय अहिले काँग्रेसमा पेचिलो बन्दै गएको छ। हालै प्रभावशाली युवा नेताहरुले सभापति देउवालाई भेटेर ७७ वटै जिल्लाबाट मतदान गर्नेगरी महाधिवेशन गर्न सुझाएका थिए। सभापति देउवा भने अनलाइनबाटै मतदान गर्ने व्यवस्था गर्न चाहन्छन्। तर, अनलाइन प्रणालीमा देउवा इतर समूहले विश्वास गर्न नसकिने जनाएको छ। शनिबारको बैठकमा यीलगायत विषयमा छलफल हुने एक काँग्रेस नेताले जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment