मनमोहन अस्पतालमा युवतीको मृत्यु, अस्पतालको हेलचक्राईँ भन्दै आफन्तहरु बिरोधमा
काठमाडौं। मनमोहन मेमोरियल अस्पताल स्यम्भुमा उपचारका क्रममा शनिबार एक युवतीको मृत्यु भएको छ। धापासीमा बस्दै आएकी २१ वर्षीया नेहा तुलाधरको शनिबार बेलुका ८ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। उनलाई मंगलबार पत्थरीको अप्रेसनको लागि अस्पताल भर्ना गरिएको थियो।
अस्पतालको हेलचक्राईले मृत्यु भएको भन्दै आइतबार बिहानैदेखि आफन्तहरु आन्दोलित बनेका छन्। आफन्तहरुले उपचारमा संलग्न डाक्टरहरुको गल्तिका कारण सामान्य विरामीको मृत्यु भएको भन्दै आक्रोस ब्यक्त गरेका छन्। सत्य तथ्य जानकारी र न्याय नपाएसम्म मृतकको शव नबुझ्ने उनीहरुको भनाइ छ।
बिरामीको हेरचाहमा रहेकी मृतककी साथी सोफी तामाङका अनुसार पत्थरीको अप्रेसनको लागि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनी अप्रेसन सकिएपछि सामान्य अवस्थामा फर्किएकी थिइन। अप्रेसन सफल भएको केही समयपछि नै उनी होसमा आएकी थिइन्। त्यसपछि बिहीबारदेखि सामान्य बोलीचालीको अवस्थामा फर्किएको तामाङले बताइन्।
घटनाबारे उनले भनिन्, ‘अप्रेसनको केही समय पछि साथीको होस आएको थियो। त्यसपछि उ हामीसँग मज्जाले हास्ने, बोल्ने र खाना खाइरहेकी थिइ। तर, अप्रेसनको तेस्रो दिन हिजो (शनिबार) बिहान उसलाई अचानक बान्ता भयो। त्यसपश्चात डाक्टरलाई खबर गर्यौँ। र, फेरि अप्रेसन गर्न लगियो।’
‘बान्ता हुनु भन्दा पहिले ठिकठाक थिइ उ। हामीले सामान्य केही खानपिनका कारण समस्या भएको होला सोच्यौँ। तर, त्यसपछि हामीले देख्न पनि पायनौँ। बोल्न पनि पाएनौ,’ भावुक हुँदै उनले भनिन, ‘बेलुका त डाक्टरले सिधै सि इज नो मोर भने एकछिन त छाँगाबाट खसे जस्तै भयो।’
बिरामीका आफन्तहरुले डाक्टरहरुले पहिलो अप्रेसनमा नै हेलक्राई गरेको आरोप लगाएका छन्। उनीहरुले मृत्यु हुने अवस्था भए पहिलेकै अप्रेसनमा मृत्यु हुनुपर्ने बताएका छन्। उपचारमा संलग्न डाक्टरहरुले गल्ति गरेर दोस्रो अप्रेसन गर्नु परेको र सोही कारण आफन्तको मृत्यु भएको उनीहरुले बताएका छन्।
मृतकको शरिरमा पोष्टमार्टम भन्दा पनि बढी खोतलखातल गरिएको उनीहरुको भनाई छ। अप्रेसन दौरानको उनीहरुसँग भिडियो पनि छ। भिडियोमा त्यो प्रस्टै देखिन्छ।
बेसहारा भइन् आमा
२१ वर्षीया कलिलो उमेरकी मृतक तुलाधर साउथ वेस्र्टन कलेजमा स्नातक पहिलो वर्ष (ब्याचलर फ्रस्ट ईयर) अध्यनरत थिइन्। उनको घरमा दुई जना आमा छोरी मात्रै छन्। त्यो पनि आमा उमेरले बुढो र सुस्त मनस्थितिकी छिन्। उनले काम गर्दै, पढ्दै आफ्नो र आमाको जिवीकोपार्जन गर्दै आएकी थिइन्।
हुर्काइ बढाइ गरेकी तन्नेरी छोरीको निधनले आमा मानसिक रुपमा निकै विक्षिप्त भएकी छन्। रेखदेख गर्ने सहाराको निधन भएपछि आमा बेसहरा बनेकी छन।
अस्पताल भन्छ ‘हेमोलाइटिक जन्डिसका कारण मृत्यु भयो’
अस्पतालले मृतकमा जन्मजात समस्या रहेकोले उपचार गर्दा गर्दै मृत्यु भएको प्रतिक्रिया दिएको छ। सर्जरी विभागका प्रमुख डा. का अनुसार मृतकमा जन्मजात समस्या थियो। ‘हेमोलाइटिक जन्डिस’ पित्त थैली सुन्निएका कारण उनको मृत्यु भएको उनले बताए।
उपचार सुरु गर्दा देखि नै विज्ञ डाक्टरहरुको सल्लाहा अनुसार नै आफूहरुले अप्रेसन गरेको उपचारमा संलग्न डाक्टरले बताए। उनले भने, ‘कुनै पनि डाक्टरले बिरामीको दुखद अवस्था होस भन्ने चाहाँदैन। हामीले सबै डाक्टरहरुको सल्लाहा अनुसार नै अप्रेसन गर्यौँ। अप्रेसनको तेस्रो दिन फेरी इन्फेक्सनको समस्या देखियो। सोही कारण हामीले पुनः अप्रेसन गरेका हौँ। त्यो बाध्यात्मक अवस्था थियो। फेरी समस्या देखिनुको कारण पत्ता लगाएर उपचार गर्न हामीले दोस्रो अप्रेसन गर्यौँ।’
उनीसँग रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेकोले उपचार गर्दा गर्दा पनि कन्ट्रोल हुन नसकेर मृत्यु भएको डाक्टरको भनाइ छ। मृतक यो भन्दा पहिले पनि ह्याम्स र ग्रान्डीमा उपचार गराइसकेको र बिरामी नाजुक अवस्थामा अस्पताल पुगेको पनि ती डाक्टरले बताए।
प्रर्दशन चर्किँदै गएपछि आइतबार बिहानै अस्पताल प्रशासन र आफन्तहरुबीच छलफल भएको थियो। कुरा मिल्न नसक्दा अस्पतालमा आफन्तहरुको संखया बढ्दै गएको छ। उनीहरुले अस्पतालको हेलचक्राईँका कारण यो घटना भएकोले अरुको यस्तो अवस्था हुनेमा सबै सचेत र खबरदारी गर्न आवश्यक रहेको बताएका छन्। घटनाको सत्य तथ्य बाहिर नआएसम्म आफूहरु शव नबुझ्ने उनीहरुले बताए।
















Facebook Comment