सिन्धुपाल्चोकमा गत ७ वर्षमा भएका मुख्य प्राकृतिक विपद्
काठमाडौं। मंगलबार राति सिन्धुपाल्चोकमा बाढीले ताण्डव मच्चाएपछि ठूलो क्षति भएको छ। क्षतिको पूर्ण विवरण नआए पनि ५० जना भन्दा बढी मानिसहरु बेपत्ता भएको अनुमान गरिएको छ।
स्थानीय जनप्रतिनिधिका अनुसार झोलुङ्गे पुल र मोटरबाटो जोड्ने पुलहरुमा क्षति भएको छ। नेपाली सेनाले अहिले उद्धार कार्य जारी राखेको छ।
सिन्धुपाल्चोक जिल्लामा अहिले मात्र हैन, विगत ७ वर्षदेखि नै यस्तै ठूला ठूला प्राकृतिक विपत्तिहरुको भएका छन्।
सिन्धुपाल्चाेकमा भएका ठूला विपत्तिका घटना यसप्रकार छन्ः
२०७१ सालको जुरे पहिरो, ७२ को विनाशकारी भूकम्प, ७३ सालको भोटेकोशीको बाढीलगायत ७७ सालमा आएको बाढीका कारण उक्त जिल्ला ठूलो धनजनको क्षति भएको छ।
तथ्याङ्क अनुसार २०७१ साउन १७ गतेको जुरे पहिरोमा परी १ सय ४५ जनाको मृत्यु भएको थियो। पहिरोले १ सय ५३ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए।
यस्तै, २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पका १३ र २९ गतेका त्यसका पराकम्पनका कारण ३ हजार ५ सय ७१ जनाको मृत्यु भयो। भूकम्पमा परी १ हजार ५ सय ६५ जना घाइते, ८ जना बेपत्ता, ७८ हजार ५ सय ३७ घर पूर्ण रुपमा क्षति भए।
२०७३ असार २१ गतेको भोटेकोशी बाढीले लिपिङ बजार र तातोपानी नयाँ बस्तीका ३० बगायो र अरनिको राजमार्ग बन्द भयो। २०७५ भदौ २ गते राती साँधी खोलामा आएको पहिरोले पक्कीपुल बगाउनुका साथै २२ घरमा लेदो पस्यो, १२ घर जोखिममा परेको तथ्याङ्कहरुले देखाउँछन्।
यस्तै गत वर्ष पनि असार २४ गते राती बाह्रबिसे नगरपालिका वडा नं ५ को जम्बु बजार पहिरोले पुरियो। २ जनाको मृत्यु, १७ जना वेपत्ता, २५ घर बस्न नमिल्ने गरी क्षतिग्रस्त भए।
भोटेकोशी गाउँपालिकाको बुल्कुटे पहिरो गयो एक जनाको मृत्यु हुनुका साथै तीन जना बेपत्ता भए। लार्चामा पहिरोले १३ घर क्षतिग्रस्त भएपछि गाउँ नै विस्थापित हुन पुग्यो।
यस्तै, गत वर्षको असार ३१ गते राती भोटेकोशी गाउँपालिकाको फुल्पिङगाउँमा खसेको पहिरोले एकै परिवारका ५ जनाको मृत्यु भयो, ३ घर पूर्ण रुपमा क्षतिग्रस्त भए। साउन १८ राती मेलम्ची नगरपालिकाको मेलम्ची बजार नजिकैको पहिरोमा परी ९ जना मजदुरको ज्यान गयो, सोहि रात बरुवामा घर पुरिएर २ जनाको मृत्यु भयो।
२०७७ साउन ३० विहान जुगल गाउँपालिकाको वडा नं २, गोल्चेस्थित लिदीमा गएको भीषण पहिरोमा ३७ घर पुरियो । पहिरोले पुरिएर बेपत्ता भएका ३९ जनाको मृत्यु भएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment