बाढी पहिरोले कहाँ कति क्षति ?

डिसी नेपाल
३ असार २०७८ १६:३३
120
Shares

काठमाडौं। अविरल वर्षाका कारण पहिरो गई दार्चुला, सल्यान, चितवन र बझाङका विभिन्न स्थानमा सडक अवरोध भएको छ भने ललितपुर, गोरखा, काभ्रे र कास्कीका विभिन्न स्थानमा धनमाल क्षति भएको छ।

दार्चुलाको ब्याँस गाउँपालिका५ स्थित दार्चुला हुँदै तिङ्कर जाने सडक, सल्यानको कपुरकोट गाउँपालिका ३ बसेरीस्थित सडक र बझाङको जयपृथ्वी नगरपालिका ७ स्थित सडकमा पहिरोका कारण सडक अवरोध भएको छ। साथै पहिरोका कारण चितवनको ईच्छाकामना गाउँपालिका ५ तिन नम्बर पुलस्थित अवरोध भएको सडक सूचारू गरिएको छ।

ललितपुर, महालक्ष्मी नगरपालिका ४ हरिसिद्दी खरिबोटस्थित अविरल वर्षाको कारणले बुधबार साँझ कर्मनासा खोलाको ढल फुट्न गई सोही ठाउँस्थित बिजय कुमार गुप्ताको श्री बाबा सत्यसाही ट्रेडर्स खाद्यान्न स्टोरमा पानी छिर्न जाँदा करिब २१ लाख ८८ हजार रुपैयाँ बराबरको विभिन्न खाद्यान्न सामानहरु क्षति भएको छ।

गोरखा, धार्चे गाउँपालिका ५ माछिखोलास्थित हेलिप्याड नजिक सीमा प्रहरी चौकी लार्केको भवन निर्माणको लागि संकलन गरिराखेको सिमेन्ट बोर्ड, सिसा, प्लाईबोर्ड र त्रिपाल लगायतका निर्माण सामग्रीहरु बाढीले हेलिप्याड सहित बुधबार साँझ बगाउँदा करिब १४ लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।

काभ्रे, भुम्लु गाउँपालिका १० स्थित घिमिरे बगरमा रहेको हुआसुई कन्काई जिमी ग्रुपले निर्माण गरेको पाँचखाल शहरी खानेपानी तथा सरसफाई आयोजनाका निर्माणाधिन सामानहरु सुनकोशी र ईन्द्रावतीमा बुधबार बिहान आएको बाढीले बगाउँदा करिब २ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।

कास्की, मादी गाउँपालिका १ सोदास्थित अविरल बर्षाको कारण मादी खोलाको पानीको बहाब बढ्न गई बुधबार दिउँसो बाढी आउँदा मादी गाउँपालिका ६ सप्लाङ बस्ने ४२ वर्षीय चित्र बहादुर गुरुङ लगायत १८ जनाको घर पूर्णरुपमा क्षति भएको छ। विस्थापित घर परिवारलाई दुधपोखरी माबिमा स्थान्तरण गरिएको छ।

ती स्थानहरुमा नजिकका प्रहरी कार्यालयहरुबाट तत्काल खटिएको प्रहरीले स्थानीयबासी, सडक डिभिजन कार्यालय र अन्य सुरक्षा निकायसँगको समन्वयमा अवरोध सडक खुलाउने पहल गर्नुका साथै डुबान परेका स्थानहरूमा आवश्यक उद्धार कार्य गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *