काँग्रेसले महाधिवेशनको मितिबारे निर्णय गरेन, भोलि पनि बैठक बस्ने

डिसी नेपाल
३ असार २०७८ २१:१८

काठमाडौं। नेपाली काँग्रेसको विहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १४ औं महाधिवेशनको मितिबारे कुनै निर्णय गरेन। भदौ ७ देखि १० गतेसम्मका लागि हुने भनिएको महाधिवेशनको मिति सार्ने पदाधिकारी बैठकमा सहमति भए पनि विहीबार सो विषयमा भने निर्णय भएन।

यो विषयमा शुक्रबार बस्ने बैठकले निर्णय गर्ने एक नेताले जानकारी दिए। उनका अनुसार विहीबार बाढी, कोरोनालगायतका विषयमामात्र निर्णय भएको छ।

विहीबारको बैठकमा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, उमाकान्त चौधरी, शंकर भण्डारी, गगनकुमार थापा, कल्याणकुमार गुरुङ, मोहनबहादुर बस्नेत, रमेश लेखक, शिवप्रसाद हुमागाँइ र डा टिएन योगीले आफ्नो धारणा राखेका थिए।

काँग्रेस बैठकका निर्णयहरु
१ बाढी पहिरो सम्बन्धमा

विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक मनाङ, गोरखा, बाजुरा, पाल्पा, प्यूठान, अर्घाखाँची, डोटी, जाजरकोट, ताप्लेजुङ्ग लगायतका विभिन्न जिल्लाहरुमा बाढी पहिरोले ठूलो जनधनको क्षति भएको छ ।

सिन्धुपाल्चोक जिल्लामा ६ जना, बाजुरा, कास्की, पाल्पा र डोटीमा एक/एक जनाको मृत्यु भएको छ भने सिन्धुपाल्चोकमा १७, जाजरकोटमा ७, बाजुरा, प्यूठान, गोरखा र अर्घाखाँचीमा एक÷एक जना वेपत्ता भएका छन् । बाढी पहिरोपछिको विपद केन्द्रीत खोज तथा उद्धार कार्य जारि रहेकाले मृतक तथा वेपत्ताको संख्या अझै वढन सक्ने अवस्था रहेको छ । विपतमा परी ११ जना घाइते भएका छन् । यस दुःखद घडीमा मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना तथा घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको यो बैठक कामना गर्दछ । हालसम्मको विवरण अनुसार ८९ घर÷आवास लगायत भौतिक संरचनामा बाढी पहिरोबाट पूर्ण र २६ वटामा आंशिक क्षति पुगेको छ । प्रकोपबाट सार्वजनिक, निजी तथा जलविद्युत आयोजनाका संरचना पनि नष्ट भएका छन् । वर्षा पछि आएको बाढीले १६५ वटा घर डुवानमा परेका छन् । विभिन्न स्थानलाई जोड्ने पक्कीपुल, झोलुङ्गेपुल बगाएको छ, सडक मार्ग समेत क्षतिग्रस्त भएर आवागमन अवरुद्ध भएको छ । हजारौंको संख्यामा मानिसहरु विस्थापित भएका छन् । नागरिकको जनजीवन अस्तव्यस्त भएको छ । हरेक वर्षायाममा आउने यस प्रकारको विपत्तिवाट जोगिन पूर्व तयारीमा जुटनु पर्ने सरकार गैर जिम्मेवार र असंवेदनशील हुनुले यस्तो दुःखद नियतिको शिकार सिंगो मुलुक र नागरिकहरु हुनु परेको छ ।

यस विषम परिस्थितिमा हराएकाहरुको खोजी, उद्धार, घाईतेहरुको उपचार र विस्थापित भएका मानिसहरुलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण गर्न र राहत कार्यमा जिम्मेदारीपूर्वक युद्धस्तरमा जुट्न सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गरिन्छ ।

वाढी पहिरोको जोखिम आगामी दिनमा थप वढन सक्ने पूर्व अनुमान दृष्टिगत गर्दै देशभर सबैलाई सजग भएर यसको सामना गर्न तथा हाम्रो स्थानीय पार्टी पंक्तिलाई सकृयतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन आव्हान गर्दै सरकारका तीनवटै तहहरुलाई आवश्यक समन्वय र व्यवस्थित योजनाका साथ सम्पूर्ण तयारीमा जुटन आग्रह गरिन्छ ।

२ कोभिड–१९ सम्बन्धमा
सरकारको चरम लापरवाही र सत्ता केन्द्रीत राजनीतिका कारण देश चौतर्फी संकटमा परेको छ । कोभिड–१९ को महामारीको रोकथाम र उपचारलाई युद्ध स्तरमा लाग्नु पर्नेमा यस महामारीलाई सत्ता सुरक्षा कवचको रुपमा सरकारले प्रयोग गर्दैछ । कोभिड–१९ को रोकथाम र उपचारमा सक्रिय हुन निरन्तर खबरदारीका वावजुद सरकारले यसलाई प्राथमिकतामा राखेन । संक्रमण बढ्दै जाँदा सरकारले फेरि लकडाउनको सहारा लिन प¥यो । यसले निम्न वर्गका नागरिकहरु खासगरी श्रमजीवी वर्ग दैनिक जीवन निर्वाह गर्न नसक्ने अवस्थामा पुगेका छन् । संक्रमितहरुको उपचारमा पहुँचको समस्या र पहुँचमा पुगेकाहरुलाई चर्को उपचारको खर्चको समस्या पनि भयावह छ । नेपाली कांग्रेस सरकारसँग फेरि पनि कोभिड–१९ संक्रमणको रोकथाम र उपचारमा गम्भीर हुन माग गर्दछ । साथै, लकडाउनका कारण आर्थिक संकटमा परेका निम्न वर्ग र श्रमिकहरुलाई तत्काल राहतको व्यवस्था गर्न माग गर्दछ । बन्दका कारण साना, मझौला व्यवसायीहरुले भोग्न परेको मर्कालाई ध्यानमा राखी व्याजदरमा राहत, भाडामा राहत सहयोग तथा पुर्नकर्जाको व्यवस्था सुनिश्चित गर्न पनि मागगर्दछ । समग्रमा नेपाली कांग्रेसले गत समयमा कोभिड–१९ को रोकथाम, उपचार र राहतका सम्बन्धमा वुँदागत रुपमा उठाउँदै आएका सार्वजनिक सरोकारका विषयहरुप्रति गम्भीर हुन सरकारसँग माग गर्दछ ।

कोभिड–१९ संक्रमण रोक्ने भरपर्दो उपाय खोप नै हो तर सरकारको अर्कमण्यता र स्वार्थका कारण आम जनतालाई खोप पु¥याउने काम असम्भव भएको छ । पहिलो खोप पाउनेहरुले समेत दोस्रो खोप नपाउँदा पहिलो खोपको प्रभाव पनि निष्प्रभावी बन्दैछ । नेपाली कांग्रेस फेरि पनि सरकारलाई आम नेपाली जनतालाई खोपको सुनिश्चितता गर्न माग गर्दछ । नेपाली कांग्रेस मित्रराष्ट्रहरुले गरेको अन्तर्राष्ट्रिय खोप सहयोगको घोषणालाई स्वागत गर्दै नेपालमा संक्रमणको स्थितिलाई ध्यानमा राखी जतिसक्दो खोप सहयोग उपलब्ध गराउन पनि अनुरोध गर्दछ ।

नेपाली कांग्रेसको आह्वानमा देशभरि केन्द्रदेखि जिल्ला, क्षेत्र र गाउँ÷नगर वडा तहसम्मका संरचनाहरु, विदेश स्थित नेपाली जनसम्पर्क समितिहरु, नेपाली कांग्रेसका शुभचिन्तक, समर्थक सबैलाई कोभिड–१९ रोकथाम, उपचार र राहतमा सक्रिय सहयोगका लागि धन्यवाद दिन चाहन्छ । साथै, यस कार्यमा आगामी दिनहरुमा पनि सक्रिय सहभागिताको अपेक्षा गर्दछ ।

३ नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति समक्ष केन्द्रीय निर्वाचन समितिबाट चैत्र १३, २०७७ मा प्रस्तुत प्रतिवेदन अनुसार सप्तरी, धनुषा, सर्लाही, बाँके, सिरहा, बारा तथा पर्सा जिल्ला समेतको स्थानीय तह संगठन पुर्नसंरचनाको समायोजन गरिएकोमा, समायोजनको निर्णय उपर केही उजुरी र गुनासाहरु प्राप्त भएको र सो उजुरी तथा गुनासाहरुको निर्णय गरिसक्दा समेत निर्देशिका बमोजिम भएन भनी पटक–पटक समिति समक्ष उजुरी तथा गुनासाहरु आएको र त्यस्ता उजुरी र गुनासाहरु केन्द्रीय निर्वाचन समितिबाट केन्द्रीय कार्यसमितिमा प्रतिवेदन सहित पठाइएकोमा,

माथि उल्लेखित जिल्ला समेतको पार्टी अन्तरिम संरचना समायोजन सम्बन्धी उजुरी र गुनासाहरुको नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचना अन्तरिम निर्देशिका २०७६ बमोजिम नभएको सन्दर्भमा सोही निर्देशिका बमोजिम हुने गरी २०७८ आषाढ १० गतेभित्र केन्द्रीय निर्वाचन समितिले नै टुंगो लगाई पार्टी समक्ष पेश गर्ने ।

४ नेपाली जनसम्पर्क समिति इजरायलबाट पार्टीको विधान र नियमावली अनुसार क्रियाशील सदस्यताको नामावली, सदस्यता शुल्क र कार्यसमितिको निर्णय लगायतका आवश्यक कागजात सहित पेश हुन आएकोले क्रियाशील सदस्यता स्वीकृत गर्ने ।

५ वाग्मती प्रदेश सभा सदस्य मा। नरोत्तम वैद्यले जेष्ठ २८ गते प्रदेश सभामा दिएको अभिव्यक्ति अमर्यादित भएको भन्दै नेपाली कांग्रेस र नेपाली कांग्रेस संसदीय दल वाग्मती प्रदेशले, तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिन मा। नरोत्तम वैद्यलाई निर्देशन दिएको र सोही अनुरुप मा। नरोत्तम वैद्यले आफूले बोलेको कुरा फिर्ता लिई जेष्ठ २९ गतेको प्रदेश सभा बैठकमा संसदको रेकर्डबाट हटाउन माग गर्नु भएको थियो । त्यस पश्चात सो अभिव्यक्ति संसदको रेकर्डबाट हटिसकेको विदित नै छ ।

तर संसदमा वोलेको विषय संसदको नियम अनुसार संसदमै टुंगिसकेपछि पनि, उक्त विषयलाई लिएर आग्रहका साथ मा। नरोत्तम वैद्य विरुद्ध दिएको जाहेरी दर्ता गर्नु र प्रक्रिया अगाडि वढाउन खोज्ने वदनियतप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपालको संविधानको धारा १८७ ले “प्रदेश सभामा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गर्ने, थुनामा राख्ने वा निज उपर कुनै अदालतमा कारवाही चलाइने छैन” भन्ने कुरा स्पष्ट गरेको छ । यस उपर सभामा अभिव्यक्ति दिने सदस्य स्वयंले आफुले बोलेको विषय संसदको रेकर्डबाट हटाउन माग गरेको र सभामुखले हटाउन आदेश दिएर, संसदको विषय संसदमै टुंग्याइसकेपछि पनि सरकारको ठाडो निर्देशनमा प्रदेश सभा सदस्य विरुद्ध उजुरी लिई कारवाहीको प्रक्रिया अगाडि बढाउनु प्रदेश सभाको विशेषाधिकार विरुद्ध हो, संविधान विपरित हो भन्ने कांग्रेसको ठहर छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *