लक्षण कुरेर नबसौं: तीन सयको परीक्षणले जोगिन सक्छ कलेजोको क्यान्सर

डिसी नेपाल
१२ साउन २०८३ १०:२०

काठमाडौं। कलेजोको सिरोसिस र क्यान्सरसम्म निम्त्याउन सक्ने हेपाटाइटिस ‘बी’ र ‘सी’को सङ्क्रमण सुरुवाती चरणमा प्रायः कुनै लक्षण नदेखिने भएकाले धेरै बिरामीमा रोग गम्भीर बनेपछि मात्रै पत्ता लाग्ने गरेको छ। समयमै परीक्षण, उपचार र हेपाटाइटिस ‘बी’विरुद्धको खोपले भने यस्तो जटिल अवस्थाबाट बच्न सकिने चिकित्सकहरूले बताएका छन्।

केएमसी अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा. सागर पौडेलले हेपाटाइटिस ‘बी’ र ‘सी’लाई ‘साइलेन्ट’ रोगको संज्ञा दिँदै धेरै बिरामीमा कलेजोमा गम्भीर क्षति पुगिसकेपछि मात्रै रोग पत्ता लाग्ने गरेको बताए।

विश्व हेपाटाइटिस दिवसको अवसरमा नेपाल न्युज बैंकसँग कुरा गर्दै उनले सुरुमा कुनै लक्षण नदेखिने हेपाटाइटिस ‘बी’ र ‘सी’को सङ्क्रमण समयमै पहिचान हुन नसके कलेजोको सिरोसिस र क्यान्सरसम्म पुग्न सक्ने बताए।

उनले भने, “हेपाटाइटिस बी र सीको सङ्क्रमण धेरैजसोमा सुरुमा कुनै लक्षण देखिँदैन। लक्षण देखिँदासम्म कलेजोमा धेरै क्षति पुगिसकेको हुन सक्छ। त्यसैले समयमै परीक्षण गरेर सङ्क्रमण पहिचान गर्नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ।”

उनका अनुसार हेपाटाइटिस हुने प्रमुख कारणहरूमध्ये अत्यधिक मदिरा सेवन, हेपाटाइटिस ‘बी’ र ‘सी’ भाइरसको सङ्क्रमण तथा दूषित खाना र पानीबाट सर्ने हेपाटाइटिस ‘ए’ र ‘ई’ प्रमुख हुन्।

हेपाटाइटिस ‘ए’ र ‘ई’ सामान्यतया केही हप्ता वा महिनाभित्र आफैं निको हुने भए तापनि हेपाटाइटिस ‘बी’ र ‘सी’ले दीर्घकालीन रूप लिएर कलेजोको सिरोसिस र क्यान्सरसम्म पुर्‍याउन सक्ने उनले बताए।

उनले थपे, “विश्व हेपाटाइटिस दिवस विशेषगरी हेपाटाइटिस बी र सीका बारेमा जनचेतना फैलाउने उद्देश्यले मनाइन्छ। नेपालमा पनि हेपाटाइटिस बी र सीका सङ्क्रमित लाखौँ हुन सक्ने अनुमान छ। धेरैजसो सङ्क्रमित समयमै परीक्षणमा नआउँदा रोग ढिलो पत्ता लागिरहेको छ।”

डा. पौडेलका अनुसार हेपाटाइटिस ‘ए’ र ‘ई’ हुँदा पेटको दायाँ भाग दुख्ने, वाकवाकी लाग्ने, खाना नरुच्ने, हल्का ज्वरो आउने तथा आँखा पहेँलो हुनेजस्ता लक्षण देखिन सक्छन्। तर हेपाटाइटिस ‘बी’ र ‘सी’मा सुरुवाती चरणमा यस्ता लक्षण नदेखिन पनि सक्छन्।

सङ्क्रमण सर्ने माध्यमबारे जानकारी दिँदै उनले भने, “हेपाटाइटिस बी र सी सङ्क्रमित रगत, असुरक्षित यौन सम्पर्क, सङ्क्रमित सुइको प्रयोग तथा सङ्क्रमित आमाबाट बच्चामा सर्न सक्छ। लागूऔषध प्रयोगकर्ताले एउटै सिरिन्ज प्रयोग गर्दा पनि सङ्क्रमण फैलिन सक्छ।”

उपचारका सम्बन्धमा उहाँले हेपाटाइटिस ‘बी’को एन्टिभाइरल औषधिबाट दीर्घकालीन उपचार सम्भव रहेको र हेपाटाइटिस ‘सी’लाई १२ देखि २४ हप्तासम्म औषधि सेवन गरेर पूर्ण रूपमा निको पार्न सकिने बताए।

उनले भने, “समयमै रोग पत्ता लगाउन सकियो भने हेपाटाइटिस बीबाट हुने सिरोसिस रोक्न सकिन्छ भने हेपाटाइटिस सी पूर्ण रूपमा निको पार्न सकिन्छ। त्यसैले लक्षण कुरेर बस्नु हुँदैन, परीक्षण गराउनुपर्छ।”

डा. पौडेलले हाल धेरै स्वास्थ्य संस्था र स्वास्थ्य चौकीहरूमा र्‍यापिड किटमार्फत हेपाटाइटिस ‘बी’ र ‘सी’को प्रारम्भिक परीक्षण उपलब्ध रहेको जानकारी दिए। उनका अनुसार एउटा परीक्षण गर्न करिब रु. २०० देखि ३०० मात्र खर्च लाग्छ।

उनले अगाडि भने, “सरकारले सबै क्षेत्रमा परीक्षण सेवा विस्तार गर्नुपर्छ। जनचेतना बढाउन सकियो भने धेरै बिरामीलाई कलेजो बिग्रिनुअघि नै पहिचान गरेर उपचार गर्न सकिन्छ।”

हेपाटाइटिसबाट बच्ने उपायबारे स्पष्ट पार्दै डा. पौडेलले हेपाटाइटिस ‘बी’विरुद्ध प्रभावकारी खोप उपलब्ध रहेकाले समयमै खोप लगाउन, जोखिम समूहले नियमित परीक्षण गराउन तथा सङ्क्रमित व्यक्तिसँग रगत वा सुइको सम्पर्क हुन नदिन विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिए।

उनले निष्कर्षमा भने, “समयमै परीक्षण, समयमै उपचार र हेपाटाइटिस बीको खोप नै हेपाटाइटिस नियन्त्रणका सबैभन्दा प्रभावकारी उपाय हुन्। यसबाट कलेजोको सिरोसिस, कलेजोको क्यान्सर र अन्य गम्भीर जटिलताहरूबाट बच्न सकिन्छ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *