सडक कालोपत्रको माग गर्दै मध्यपुरथिमि नगरपालिका कार्यालय घेराउ

डिसी नेपाल
४ असार २०७८ २१:५२

मध्यपुरथिमि । सडक कालोपत्र गर्न माग गर्दै स्थानीयवासीले मध्यपुरथिमि नगरपालिका कार्यालय घेराउ गरेका छन् ।

मध्यपुरथिमि नगरपालिका कार्यालय अगाडिको सडकमा खाल्डो र हिलाम्मे भएपछि स्थानीयवासीले आज नगरपालिका कार्यालय घेराउ गरेका हुन् । मध्यपुरथिमि नगरपालिका–६ स्थित नगरपालिका कार्यालय अगाडि विगत दुई वर्षदेखि स्तरोन्नती गर्ने भन्दै सडक चौडा गरेर ग्राइबेल बिछ्याए पनि कालोपत्र नगरेका कारण खाल्डो र हिलाम्मे भएपछि स्थानीयवासीले सडक कालोपत्र गर्न माग गर्दै नगरपालिकाको मूल गेट अगाडि नाराबाजी गरेका छन् ।

पटक–पटक आफुहरुले ज्ञापन पत्र दिदाँ पनि नगरपालिकाले सडक कालोपत्र गर्न चासो नदिए पछि नगरपालिकाको आज कार्यपालिकाको बैठक बसेको चाल पाएपछि नगरपालिका घेराउ गरेको स्थानीयवासी रामकृष्ण श्रेष्ठले बताए । यहाँको २०० मिटर सडक कालोपत्र गर्न नगरपालिकाले आलटाल गर्दै आएको अर्का स्थानीयवासी कृष्ण प्रजापतिको भनाइ छ ।

नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले भने स्थानीयवासीको बिरोधका कारण नै सडक कालोपत्र हुन नसकेको बताए । यस क्षेत्रमा ढल विस्तारको क्रममा खनिएको सडकमा विद्युत्को लाइन भूमिगत गर्ने तयारी गरेको तर केहीले तार भूमिगत गर्न अबरोध गरेपछि स्थानीयवासीकै छलफलमा सहमतिबाट मात्रै कालोपत्र गर्ने तयारी गरेको उनले बताए ।

कालोपत्र गर्न नगरपालिकाले रु ६० लाख बजेट समेत विनियोजन गरेको छ ।

बाढीपीडितलाई सहयोग

मध्यपुरथिमि नगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामार्फत बाढीपीडित परिवारका लागि रु. २२ लाख २२ हजार आर्थिक सहयोग गर्ने भएको छ ।

नगरपालिका कार्यपालिकाको आजको बसेको बैठकले मेलम्ची नगरपालिकालाई रु. ११ लाख ११ हजार एकसय ११ र हेलम्बु गाउँपालिकालाई रु. ११ लाख ११ हजार एकसय ११ गरी रु. २२ लाख २२ हजार २२ सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *