मर्स्याङ्दीको बहाव परिवर्तन हुँदा चामे गाउँपालिका उच्च जोखिममा

डिसी नेपाल
११ असार २०७८ १८:२९
64
Shares

मनाङ । मर्स्याङ्दी नदीको बहाव परिवर्तन हुँदा मनाङको चामे गाउँपालिका–४ का बस्ती क्षेत्र उच्च जोखिममा परेका छन् ।

चामे गाउँपालिका–५ स्थित पुलको छेउबाट नदीले दिशा परिर्वतन गर्दै वडा नं ४ तर्फको भागबाट कटान गर्न थालेपछि बस्तीसहित त्यहाँस्थित विद्यालय, होटल, नेपाल रेडक्रस सोसाइटी, वित्तीय संस्थालगायतका दर्जनौं भवन जोखिममा परेका हुन् । लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च भएको र गाउँपालिका–५ स्थित मोटरेवल पुलले पानीको बहाव छेक्दा जग्गा कटान गर्न थालेको वडा नं ४ वडाध्यक्ष लब्सन लामाले बताए ।

“नदीले जग्गा कटान गर्न थालेपछि त्यहाँस्थित लोकप्रिय माध्यमिक विद्यालय, सिटीजन बैङ्क, प्रभु बैङ्क, रोयल गार्डेनसहित तीन वटा होटेल र नेपाल रेडक्रस सोसाइटीको भवन जोखिममा परेका छन्”, उनले भने, “तत्काल नदी नियन्त्रणको पहल नभए विद्यालयसँगै बस्तीका बासिन्दासमेत प्रभावित हुने देखिएका छन ।” नदीमा आएको बाढीले मोटरेवल पुललाई डुवाएर बहाव परिवर्तन गरेको उनको भनाइ छ ।

माटरेवल मोटरेवल पुलले पानीको बहाव छेक्दा नदीले धार परिवर्तन गरी बग्न थालेको छ । लगातारको वर्षाले नदीको बहाव उच्च भएर धार विद्यालय रहेको क्षेत्र भएर बग्नेक्रमसँगै जग्गा कटान गर्न थालेको छ । विद्यालय नजिकै रहेका दर्जनौं भवनसमेत नदीको उच्च जोखिममा परेको स्थानीयवासी बताउँछन् ।

नदीमा पानीको बहाव कम नहुँदा मोटरेवल पुल क्षेत्र बढी जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । “बाढीलाई पुलले छेक्दा नदीले बस्तीतर्फ कटान गरेको छ”, उनले भने, “पुललाई हटाउन सक्ने अवस्था पनि छैन, हाल नदीमा बाढी कम हुने अवस्था पनि देखिएको छैन, यसले गर्दा जोखिम अझ बढाएको छ ।” पुलको उचाई कम हुँदा नदीको बहावलाई छेक्दा अझ समस्या थपिएको प्रजिअ लामिछानेको भनाइ छ ।

नदीले वस्तीतर्फ कटान गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । “नदीले वस्तीतर्फ नै कटान गरेको छ । यसले हामी राति सुत्न पाएका छैनौं, कतिखेर बाढीले बगाएर लग्ने हो भन्ने डरत्रामा हामी बाँचिरहेका छौं”, स्थानीयवासी मेलिना गुरुङले भने, “वस्ती र विद्यालय संरक्षणका लागि तत्काल नदी नियन्त्रण गर्नेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।” रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *