‘प्रदेश नं २ चिकित्सा विज्ञानको केन्द्र बन्ने’
सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाले प्रदेश नं २ लाई चिकित्सा विज्ञानको केन्द्रका रुपमा स्थापित गराउन सहयोग पुग्ने बताए ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शनिबार स्वास्थ्य सामग्री वितरण कार्यक्रममा उनले प्रदेशलाई स्तरीय स्वास्थ्य उपचारको केन्द्र बनाउन प्रतिष्ठानहरु स्थापना भएको बताए ।
रामराजा प्रतिष्ठानको जग्गा विवादको समस्या भर्खरै समाधान भई काम अगाडि बढेकामा खुशी व्यक्त गर्दै उहाँले डिपिआरपछि प्रतिष्ठान निर्माण कार्य शुरु हुने विश्वास व्यक्त गरे । अन्य शिक्षाभन्दा मेडिकल शिक्षाको माग बढेको बेला प्रतिष्ठान स्थापनाले आफ्नै ठाउँमा डाक्टर उत्पादन हुने तथा नेपाल र भारतका सेवाग्राहीको आगमनले व्यापार वृद्धि भई विकासको गति बढ्ने यादवले बताए।
कोभिड–१९ को तेस्रो लहर बढी खतरनाक हुने भएकाले स्वास्थ्य उपकरणको जोहो गर्न जरुरी रहेको जनाउँदै उहाँले अभाव नहोस् भनेर स्वास्थ्य सामग्री प्रदान गरिएको जानकारी दिए। कार्यक्रममा अध्यक्ष यादवले अस्पताललाई ७० कार्टुन के९५ मास्क र नौवटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरे ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झालाई सामग्री हस्तान्तरण गर्दै उनले जनशक्ति र साधनस्रोतको कमी रहेकाले स्वास्थ्य चेतनाको बढी जरुरी रहेको बताए । उनले विकासका लागि स्वास्थ्य, यातायात र सञ्चारलाई तराईदेखि पहाडसम्म जोड्ने आवश्यकतामा जोड दिए ।
कार्यक्रममा प्रदेशका उपसभामुख उपमा देव, भूमि व्यवस्थापन, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह, पूर्वशिक्षामन्त्री रेणु यादव, राजविराज नगरप्रमुख शम्भुप्रसाद यादव लगायत जसपाका नेताको उपस्थिति रहेको थियो ।







डिसी नेपाल







Facebook Comment