दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ
दाङ । दाङ प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा विभिन्न स्थानबाट लागुऔषधसहित उनीहरुलाई आज पक्राउ गरिएको हो।
घोराही उपमहानगरपालिका –१३ बडहरा टोलका २२ वर्षीय कृष्ण बुढाथोकी र वडा नं २ निवासी २३ वर्षीय नुवाजन चौधरीले रा ४ प १०७४ नं को मोटरसाइकल प्रयोग गरी ब्राउन सुगर कारोवार गरिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
उनीहरुका साथबाट ६०० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको प्रहरीले बताएको छ। यसैबीच राप्ती गाउँपालिका-१ भालुवाङ रातोडाँडा निवासी २७ वर्षीय एकेन्द्र पुन मगरलाई प्रहरीले पक्राउ गरेको छ। उनको घरका कोठामा लागुऔषध लुकाइछिपाइराखिएका अवस्थामा २.३५ मिलीग्राम ब्राउन सुगर प्रहरीले सोमबार बरामद गरेको हो।
तीनै जनालाई लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment