दराज सहयात्री कार्यक्रम पुनः सुरु

डिसी नेपाल
२६ असार २०७८ २२:३५
28
Shares

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो सफल सहयात्री कार्यक्रम पुनः सुरु गर्ने घोषणा गरेको छ। साना र मध्यम आकारका उद्यमहरूलाई (एसएमई)समर्थन गर्न सुरु गरिएको दराजको सहयात्री कार्यक्रम गतवर्ष सुरु गरिएको थयो।

कार्यक्रम अन्तर्गत दराजले चार महिनाको कमिसन शुल्क हटाएर बिक्रेताहरूलाई देशभरका सात लाख भन्दा बढी ग्राहकसम्म निःशुल्क पहुँच प्रदान गरिसकेको छ । जसमा ८००० भन्दा बढी एसएमईहरू (साना तथा मझौला व्यवसाय) लाई आफ्नो व्यवसाय दराजमा दर्ता गर्न मद्दत गरेको थियो ।

कम्पनीले अनुसार साना तथा मध्यम आकारका उद्यमहरूलाई शुल्क माफी, व्यापक अनलाइन प्रशिक्षण, साप्ताहिक भुक्तान चक्र र थप वित्तीय कार्यक्रमहरूको माध्यमबाट छिटो पुनः प्राप्ति गर्न सहयोग गर्ने उद्देश्यका साथ यो कार्यक्रम ल्याएको हो ।

यसबाहेक कार्यक्रममार्फत पहिलो पटक अनलाइनमा सरेका नयाँ व्यवसायहरूले अब आउने तीन महिनामा दराज दशैँ धमाका अभियानसम्म निःशुल्क रुपमा आफ्नो उत्पादन दराजमा बेच्न सक्नेछन् । यसपाली दराज सहयात्री कार्यक्रम थप नयाँ पहलका साथ सुरु गरिएको कम्पनीले जनाएको छ । जसमा सेलर प्रमिस २०२१ समावेश छ ।

जसअनुसार आउने तीन महिनाको लागि पहिलो पटक अनलाइन बिक्रीमा एसएमईहरूलाई कुनै बजार शुल्क लाग्ने छैन । साथै बिक्रेताहरूलाई १४ दिनको साटो सात दिन भित्रै भुक्तानी दिइनेछ । नविल बैंकको सहयोगमा व्यवसायहरूले विशेष एसएमईहरूलाई वित्तीय सहायता समेत दिइने बताइएको छ ।

द्रुत साइन अप प्रक्रियाले नयाँ बिक्रेता २४ घण्टा भित्रै दराजको अनलाइनमा जान सक्नेछन् । साथै बिक्रेता प्रश्न तथा जिज्ञासा केवल ३० सेकेन्डको अवधिमा प्रत्यक्ष लाइभ कुराकानी मार्फत सम्बोधन दिने व्यवस्था समेत मिलाइएको छ ।

साना तथा मझौला व्यवसायहरूलाई महामारी र लगातारको लकडाउनले निकै ठूलो समस्यामा पारेको छ । दराजका बिक्रेता फस्टाउनुको अर्थ देशभरका १० लाख बढी ग्राहकहरू लाभान्वित हुनु रहेको कम्पनीको दाबी छ ।

‘तसर्थ, नयाँ एक हजार बिक्रेतालाई प्लेटफर्ममा जोड्न खोज्दै छौं,’ दराजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसबाट थप व्यवसायहरूलाई कुनै जोखिम बिना अनलाइनमा आफ्ना सामान बिक्री गर्ने अवसर दिनेछ ।’

दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले सहयात्री कार्यक्रम र सेलर प्रमिस २०२१ ले छिटो भुक्तानी, अनुकूलित अनबोर्डिङ, कम शुल्क, थप प्रशिक्षण र विशेष वित्तीय विकल्पमार्फत व्यवसायहरूलाई सही दिशामा फर्काउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

अलिबाबा समूहको स्वामित्वमा रहेको दराज नेपाल सहित पाकिस्तान, बंगलादेश, श्रीलंका, र म्यानमारमा सञ्चालनमा रहेको छ । डिजिटल युगमा व्यापार गर्न सजिलो बनाउन दराजले एसएमईलाई प्राथमिकतामा राख्दै आएको छ ।

दराज नेपालले दश हजारभन्दा बढी बिक्रेतामार्फत इलेक्ट्रोनिक्स, फेसन, ग्रोसरी तथा घरेलु उत्पादनहरूमा ६ लाख भन्दा बढी उत्पादनहरू उपलब्ध गराउँदै आएको छ । सँगसँगै दराज अर्को बिक्री अभियान महा बचत बजारको तयारीमा समेत जुटेको छ ।

यदि तपाईं दराजको सहयात्री कार्यक्रमको बारेमा थप जानकारी चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *