एमालेको कार्यदलले अन्ततः जुटायो सहमति

डिसी नेपाल
२७ असार २०७८ २२:२७
1.6k
Shares

काठमाडौं। एमालेको आन्तरिक विवाद समाधान गर्न गठित सँयुक्त कार्यदलले अन्ततः सहमति जुटाएको छ। आइतबार करिब १३ घण्टासम्म चलेको बैठकपछि सहमति जुटेको हो। बिहान साढे ९ बजे शुरु भएको बैठक राति १० बजे सकिएको हो।

सिंहदरबारस्थित अर्थमन्त्रालयमा कार्यदलको लामो बैठक बसेको थियो। सो बैठकले सहमति जुटाएको कार्यदलका सदस्यले एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए। उनले भने, ‘हामीले ऐतिहासिक रुपमा सहमति गरेका छौं। १० बुँदे सहमति गरेका छौं।’ उनले १० बुँदे सहमतिलाई अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समक्ष पेश गरिने जनाएका छन्।

सहमतिका १० बुँदा पार्टी सचिव प्रदीपकुमार ज्ञवालीले वाचान गरेर सुनाएका छन्। उनका अनुसार पार्टीका संरचना २०७५ जेठ २ पूर्वको संरचनाअनुसार सञ्चालन गर्ने, तर जेठ ३ गते मनोनित केन्द्रीय सदस्य यथावत हुने। विधान महाधिवेशन गर्नेलगायतका सहमति भएका छन्।

यो सहमतिमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल सहमति जनाएको वा नजनाएको त्यो खुलाइएको छैन। गत सोमबारदेखि कार्यदल ब्यूउँताइएपछि कार्यदलको लगातार बैठक बसेको थियो।

नेकपाकालीन विवाद एमाले ब्यूउँतिएपछि एमालेमा सरेको थियो। नेकपा हुँदा अध्यक्ष ओलीसँग टाढिएको माधव समूह एमालेमा संघर्ष गर्न तयार रहेको भन्दै प्रचण्डसँग अलग्गिएको थियो। तर, फागुन २८ मा अध्यक्ष ओलीले बालुवाटारमा आफू निकट केन्द्रीय कमिटीको बैठक बसालेर साविकको एमालेका संरचनामा ब्यापक फेरबदल गरेपछि माधव समूहले त्यसलाई चुनौती दिँदै चैत ४ देखि ६ गतेसमम काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेको थियो। त्यसपछि माधव समूहले देशभर समानान्तर कमिटी विस्तार गर्दै ओलीलाई चुनौती दियो भने ओलीले माधव नेपालसहित ११ जनालाई पार्टीबाटसमेत निष्कासित गरे।

अध्यक्ष ओलीले नेकपा बन्नुभन्दा पहिलाको संरचनामा एमालेलाई अगाडि बढाउन तयार भएपछि कार्यदल बनाएर सहमतिको प्रयास गरियो। तर, प्रतिनिधिसभा विघटन र सरकार निर्माण प्रक्रियाले फेरि ओली र माधवबीच टकराव भयो। त्यसपछि कार्यदल निष्क्रिय बन्यो। माधव नेपालसहितका ११ जना नेताहरु पार्टीबाट निष्कासित गरिए। तर, गत सोमबार फेरि कार्यदललाई ब्यूउँताइएको थियो। त्यसपछि कार्यदलको लगातार बैठक भएको थियो। योबीचमा ओली र नेपालबीच होटल मेरियटमा वार्ता पनि भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.