दुई वर्षपछि शोधान्तर घाटामा, आयात/निर्यात भने बढ्यो

डिसी नेपाल
३१ असार २०७८ १४:३५
40
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार करिब २ बर्षपछि देशको शोधानान्तर स्थिति घाटामा पुगेको देखिएको छ। बैंकको तथ्याङ्क अनुसार गत जेठ मशान्तसम्ममा शोधनान्तर स्थिति १५ अर्ब १५ करोडले घाटामा रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७९ अर्ब ३७ करोडले बचतमा रहेको थियो।

समीक्षा अवधिमा चालु खाता २ खर्ब ९३ अर्ब ९७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६२ अर्ब ५९ करोडले घाटामा रहेको थियो।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ८.४ प्रतिशतले वृद्धि भई १४ अर्ब १५ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १३.४ प्रतिशतले कमी आई १६ अर्ब २० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१८ अर्ब ७२ करोड रहेको थियो ।

२०७७ असार मसान्तमा १४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.६ प्रतिशतले कमी आई २०७८ जेठ मसान्तमा १३ खर्ब ६५ अर्ब ६५ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२२६ अर्ब १२ करोड रहेकोमा २०७८ जेठ मसान्तमा २.३ प्रतिशतले कमी आई ११ खर्ब ९७ अर्ब ६५ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १ खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७८ जेठ मसान्तमा ४.४ प्रतिशतले घटेर १ खर्ब ६८ अर्ब कायम भएको छ।

चालु आर्थिक वर्षको ११ महिनामा कुल वस्तु निर्यात ३७.८ प्रतिशतले बढेर १ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२% ले वृद्धि भएको थियो। यस्तै, कुल वस्तु आयात २५.७% ले बढेर १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १५.३% ले घटेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.