न्यादी फिदी जलविद्युत् आयोजनामा तेह्रथुम पावरले लगानी गर्ने, नर्थ समिट हाइड्रोको १ लाख कित्ता संस्थापक सेयर खरिद गर्ने

डिसी नेपाल
२३ असार २०८३ ११:१४

काठमाडाैं। तेह्रथुम पावर कम्पनी लिमिटेडले लमजुङ जिल्लामा निर्माणाधीन २१.४ मेगावाट क्षमताको न्यादी फिदी जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ।

कम्पनीले सो आयोजनाको प्रवर्द्धक कम्पनी नर्थ समिट हाइड्रो लिमिटेडको १ लाख कित्ता संस्थापक सेयर खरिद गर्ने औपचारिक निर्णय गरेको हो।

असार १७ गते बसेको तेह्रथुम पावर कम्पनीको ६७औँ सञ्चालक समिति (बोर्ड) बैठकले उक्त आयोजनामा लगानी गर्ने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र लेखेर यसको जानकारी गराएको छ।

कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभाबाट प्राप्त सहमति र प्रबन्ध पत्रको व्यवस्था बमोजिम बैंक खातामा रहेको लगानी योग्य मौज्दात रकमबाट यो सेयर खरिद गर्न लागेको जनाएको छ। जसअनुसार नर्थ समिट हाइड्रोको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ लाख कित्ता सेयर खरिद गरिनेछ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका (साबिकको बाहुनडाँडा र भुलभुले) मा निर्माणाधीन न्यादी फिदी जलविद्युत् आयोजनाको निर्माण कार्य सन्तोषजनक रूपमा अगाडि बढेको र वित्तीय हिसाबले पनि आयोजना आकर्षक देखिएकाले लगानी गर्ने निर्णय लिइएको कम्पनीको भनाइ छ।

विद्युत् विकास विभागबाट उत्पादन अनुमति प्राप्त गरिसकेको यस आयोजनाले व्यावसायिक उत्पादन सुरु गर्ने योजनाका साथ काम अघि बढाएको छ। यस लगानी सम्बन्धी जानकारी तेह्रथुम पावर कम्पनीले धितोपत्र बोर्ड र सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई पनि बोधार्थ पठाएर अवगत गराएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *