सेयर बजारमा ऐतिहासिक अंकको उछाल, झण्डै एक सय अंक बढ्यो नेप्से
काठमाडौं। साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से ऐतिहासिक अंकले वृद्धि भएको छ। आइतबार आर्थिक वर्षको पहिलो दिन सेयर बजार परिसूचक नेप्से झण्डै एक सय अंकले वृद्धि भएको छ।
आइतबार नेप्से ९७. २ अंकले बढेर २९ सय ८० अंकमा बन्द भएको छ।
प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिने दिन आज शेयर बजारमा उछाल आएको हो। देउवाले प्रधानमन्त्रीको लागि विश्वासको मत पाउने र केही समयका लागि स्थिर सरकार बन्ने मनोविज्ञानले पनि सेयर बजारमा प्रभाव पारेको लगानीकर्ताहरुको बुझाई छ।
यसअघि अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारको पक्षमा सकारात्मक अभिव्यक्ति दिएका थिए। उनले सेयर बजारलाई थप सुधार गरिहने बताएका थिए। उक्त अभिव्यक्तिको प्रभाव पनि बजारमा देखिएको छ।
यस दिन परिसूचकलाई कारोबार रकमले पनि साथ दिएको छ। केही दिन अघि ५ ६ अर्बमा सिमित रहेको कारोबार रकममा आज भने ११ अर्ब ६३ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
यस दिन कारोबार भएका सबै समूहहरु बढेका छन्। समूहगत रुपमा हेर्दा बैंकिङ ९२, ब्यापार ३३, होटल तथा पर्यटन ५८, विकास बैंक २३३, जलविद्युत ४५, फाइनान्स ३५, निर्जीवन बीमा ४४१, उत्पादन १६५, अन्य १९, माइक्रोफाइनान्स १९० र जीवन बीमा ६४८ अंकले बढेका छन्।
यस दिन सबैभन्दा धेरै सिन्धु विकास बैंक, सिंगटी हाइड्रोपावर, ङादी ग्रुप, समृद्धि फाइनान्स र हिमालय पावर पार्टनरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन।
यस्तै यस दिन समग्र बजार बढे पनि केही कम्पनीको मूल्यमा भने गिरावट आएको छ। मल्टिपर्पोज फाइनान्सको १.७७ तथा रिडी हाइड्रोपावरको १.३९ प्रतिशतले मूल्य घटेको छ। अरुण भ्याली, नारायणी डेभलपमेन्ट र माथिल्लो तामाकोसीको मूल्य पनि घटेको छ।
यस दिन मञ्जुश्री फाइनान्सको सबैभन्दा धेरै ४० करोड रुपैयाँ बराबरको सेयर किनबेच हुँदा नबिल बैंकको ३८ करोडको कारोबार भयो।







डिसी नेपाल








Facebook Comment