सवेलाको कटान रोक्न मन्त्री भुसालको निर्देशन

डिसी नेपाल
५ साउन २०७८ २२:०७
64
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले धनुषाको सवेला नगरपालिकामा कमला नदीले कटान गरेको भन्दै तत्काल समस्या समाधान गर्न निर्देशन दिएकी छन् ।

नदीको कटानका कारण नेपालको सबैभन्दा पुरानो चन्द्रनहरसमेत समस्यामा परेको छ । सवेला १३ को तीलकपुरमामा कमला नदीले कटान गरी जोखिम बढाएकाले कटान रोक्ने पहल गर्न मन्त्री भुसालले सिँचाइ विभागलाई निर्देशन दिएकी छन् ।

मन्त्री भुसालले आज सिँचाइ विभागका महानिर्देशक मधुकर राजभण्डारीमार्फत सो क्षेत्रमा भइरहेको कटान रोकेर बस्ती सुरक्षित तुल्याउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । सो क्षेत्रमा कमला नदीने ६००/७०० मिटर कटान गरिसकेको नेकपा (माओवादी केन्द्र)का सांसद एवं पूर्वमनत्री मातृकाप्रसाद यादवले जानकारी दिए ।

कमला नदी व्यवस्थापन आयोजनाका प्रमुखलाई सिँचाइ विभागको आकस्मिक कोषको रु ५० लाख खर्च गर्ने गरी कटान नियन्त्रण गर्न मन्त्री भुसालले निर्देशन दिएको महानिर्देशक राजभण्डारीले जानकारी दिए।

मन्त्रीको निर्देशनपछि सो क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली नदी नियन्त्रणका लागि खटिएका छन् । नदीले कटान गरिरहेको भन्दै सांसद यादव र पूर्वसांसद शिवराम यादवले मन्त्री भुसालको ध्यानाकर्षण गराएका थिए । मन्त्रीको ध्यानाकर्षणलगत्तै सिँचाइ विभागले आवश्यक काम शुरु गरिसकेको जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *