तुइनको बाध्यता : काठमाडौं हुँदै विदेश जाने तयारीमा रहेका जयसिंह महाकालीमा विलय

डिसी नेपाल
१६ साउन २०७८ १६:२२

काठमाडौं। दार्चुला व्याँस गाउँपालिका वडा नम्बर दुई बस्ने जयसिंह धामी शुक्रबार बिहान विदेशको सपना देख्दै घरबाट निस्किए। नाबालक छोरा, छोरी र श्रीमतीलाई आफू चाँडै घर फर्किने भन्दै धामी घरबाट बिदाई भए। तर, महाकाली तर्न नपाउँदै उनी कहिल्यै नफर्किने गरी परिवार छोडेर गए।

शुक्रबार बिहान साढे ९ बजे जिल्ला सदरमुकाम खलङ्गा पुग्न महाकाली तर्दै गरेका धामी महाकाली नदिमै विलय भए। घटनाले परिवार विक्षिप्त बनको छ भने स्थानीय आक्रोशीत र त्रसित भएका छन।

शुक्रबार बिहान वेपत्ता भएका उनको शनिबार दिउसोसम्म अज्ञात अवस्था छ। महाकाली नदीमा खसेका कारण उनी ज्युदो भेटिने सम्भावना एकदमै कम छ। स्थानीय बासीन्दा र परिवारका सदस्यले भारतीय सीमा सुरक्षा बलका जवानको ज्यादतीका कारण जयसिंहको मृत्यु भएको बताएका छन। धामी तुइन चढिरहेकै बेला डोरी काटि दिएपछि उनी नदीमा खसेको उनीहरुको भनाई छ।

घटनाको बारेमा बताउँदै उनका भाई नरेन्द्र धामीले भने ‘एसएसबीको ज्यादतीका कारण दाईले मृत्युवरण गर्नु पर्यो। दाईले नदी तर्न नपाउँदै भारतीय प्रहरीले जल्दी करो जल्दी करो भनेर तुइनको डोरी खोल्दिएको देख्नेहरु बताउँछन। उनीहरुले पहिले पनि यस्ता घटनाहरु घटाइ रहेको हो। उनीहरुले अनावश्यक दुख दिइरहेका हुन्छन।’

उनले अगाडी भने ‘हामीहरु घरको आवश्यक सामग्रीहरु चामल, नुन, तेल, चिनी, लिएर गएको देखेमा एसएसबीले घाटमा बगाइ दिने, आफ्नो केन्द्रमा लगेर जाने, आईमाईहरुसँग जे पायो त्यही बोल्ने, दुव्र्यबहार गर्ने जस्ता हर्कतहरु गरीरहेका हुन्छन। जुन ठाउँमा मेरो दाई लाई बगाईयो, मारीयो सोही ठाउँबाट नै म ५ दिन अघि मात्रै घर आएको थिएँ। उनीहरुले म सँग पनि त्यस्तै दुव्र्यवहार गरे जस्तो उनीहरुले गर्दै आएका छन। त्यस बेला मैले आफू लकडाउनमा घर आएको र जान नपाए पढाई छुट्ने भन्दै हात जोडेर कागजात देखाए पछि घर आउन पाएको थिएँ।’

३३ वर्षीया धामीको चार जनाको परिवार थियो। उनको घरमा आठ वर्षका एक छोरा, ३ वर्षकी एक छोरी र श्रीमती छन्। धामी वैदेशीक रोजगारीको लागि काठमाडौं आउन लागेका थिए।

शुक्रबार स्थानीय प्रहरीले घटनाको छानवीन गरे पनि यथार्थ कुरा पत्ता लगाउन सकेको छैन। डीएसपी वीरसिंह धामीको कमाण्डमा ६ जनाको प्रहरी टोलि शनिबार दिउसो घटनास्थलतिर प्रस्थान गरेको छ। घटनास्थल पुग्नलाई ५ ६ घण्टा लाग्ने र त्यहाँबाट घटनाको बारेमा छानवीन गरेर फर्किदाँ बेलुकी हुने प्रहरीले जनाएको छ। उनीहरुले त्यहाँको यर्थाथ बुझेर सत्य तथ्य छानवीन गर्ने दार्चुला प्रहरीले जनाएको छ।

एसएसबीका कारण वार्षौ देखि समस्या झेल्दै आय पनि यो पटक मानवीय क्षति बेहुर्नु परेको व्याँस गाउँपालिकाका अध्यक्ष दिलीप बुढाथोकिले बताए।भारतीय प्रहरीमा हामीले जे गर्दा पनि हुन्छ भन्ने प्रवृति रहेको र उनीहरुको दादागीरी बाध्य भएर सहनु परेको उनले बताए।

‘मनिसहरुले तुइनका कारण वर्षौँदेखि समस्या झेल्दै आएका छन।’ उनले भने ‘विगतका दिनहरुमा पनि उनीहरुले आफ्नो मर्जी अनुसार तुइन काट्दै लगाउँदै आएका थिए। तर, मानवीय क्षति चाँही भएको थिएन। अहिले चाँही अमानवीय ढंगले घटना घटाईएको छ।’ पुल नबन्दा धेरै समस्या भएको बताउँदै उनले तुइनकै कारण करिब २० जना मानिसहरुको मृत्यु भएको बताए।

तर, जिल्ला प्रशासन कार्यालय दार्चुलाको भनाइ भने फरक छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले भनिन ‘सम्बन्धीत व्यक्ति तुईन जढेर पारी गएको हो। त्यो जाँदा खेरि भारतीय एसएसबी आएको हल्ला भएको भन्ने सूचना हामीले पाएका छौँ। त्यो हल्ला पछि भाग्न खोज्दा यो दुखद घटना भएको भन्ने कुरा हामीलाई प्रारम्भिक जानकारीमा आएको छ।’

‘यो तुइन भनेको अवैधानिक हो। स्थानीय र एसएसबीको सीमामा लुकीछिपी जस्तै हुन्छ। एसएसबी जाने बित्तिकै स्थानीय तुइनमार्फत वारपार गर्न खोज्छन। र स्थानीयले वारपार गरेको सुईको पाउनासाथ एसएसबी आएर तुइन हटाइदि हाल्छन।’ उनले भनिन ‘हुन त स्थानीयलाई हामीले तुइन प्रयोग गरेर वारपार नगर्न अनुरोध गरेका हौँ। यो जोखिमपूर्ण र अवैधानिक हो भन्दा भन्दै उहाँहरु तुइनबाट वारपार गरिराख्नु भएको छ। स्थानीयलाई ज्यानको बाजी लगाएर वारपार गर्नु पर्ने बाध्यता पनि छ।’

भारतीयको दादागीरी र बाध्यता तुइनको

सरकारी कामकाजमा निक्लन पर्दा होस् वा बजार जाँदा, पश्चिम–उत्तरी दार्चुलावासीलाई तुइन चढ्नै पर्ने बाध्यता छ। तुइनबाट महाकाली नदी तरेर भारतीय बाटो हुँदै उनीहरू सदरमुकाम पुग्छन्। र दैनिक आवश्यक पर्ने खाद्यन्न, लत्ता कपडा लगाएतका समान किनेर घरधन्दा चलाउँछन।

नेपालको बाटो हुँदै पनि सदरमुकाम खलङ्गा पुगिन्छ तर, त्यसको लागि बाढी पहिरोलाई छिचोल्दै डेढ दिनको बाटो पैदल हिड्नु पर्छ। तर, सोही बाटो भारतीय सीमा क्षेत्रबाट गएपछि करिब २ घण्टामा नै सदरमुकाम पुगिन्छ। भारततर्फ गाडिको सुविधा छ।

भारतीय सीमा प्रयोग गरेर जानु पर्ने बाध्यताको फाइदा उठाउँदै सीमामा तैनाथ सुरक्षा बलले दार्चुलावासीलाई अनावश्यक दुख दिने गरेका छन। उनीहरुले लुट्ने, धम्क्याउने, महिलाहरुलाई र्दुव्यवहार गर्ने गरेको स्थानीय बासीको गुनासो छ।

निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकाल (२०७२ साल) मै दुई वर्षभित्र तुइन विस्थापन गर्ने उद्घोष गरिएपछि त्यँहाका बासिन्दा उत्साहित भएका थिए। तर, तुइन विस्थापन गर्न यहाँ झोलुङ्गे पुल बनेका छैनन भने कोरोना भाइरसको महामारी फैलिने भन्दै तुइन बन्द गरिएको छ। सोही कारण दार्चुलावासी ज्यानको जोखिम मोलेर तुइन चढ्न बाध्य छन।

समयमा पुल बनेको भए सायद घट्ने थिएन यो घटना

समयमै पुल नबनेका कारण यस्तो दुखद घटना घट्न पुगेको हो। व्याँस गाउँपालिकामा तीन वटा झुलुङ्गे पुलहरु निर्माणाधिन अवस्थामा छन। तर, ठेकेदारको लापरवाही र नियामक निकायको ध्यान पुग्न नसक्दा एउटै पुल पनि निमार्ण सम्पन्न हुन सकेको छैन।

दुई वर्ष पहिले ठेक्का भएको उक्त ठाउँको पुल एक वर्ष पहिले नै निर्माण सम्पन्न हुनु पर्ने हो। तर, अहिलेसम्म काम नै सुरु भएको छैन। निमार्ण व्यवसायी लगाएत ठेकेदारहरुले कोरोनालाई कारण देखाएर बहाना बनाईरहेका छन।

मानिसहरु दैनिक गुजारा गर्नको लागि जोखिम मोलेर अवैधानिक तुइनबाट वारपार गर्न बाध्य हुन्छन। यदि समयमै पुल बनेको भए, यस्तो दुखद घटना सायद नहुने स्थानीयहरु बताउँछन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *