इजरायल रोजगारीको लागि खुलाइएको फारम भर्न किन झुक्किँदैछन् युवा?
फाइल फाेटाे।
काठमाडौं । महिला र पुरुष गरी १ हजार जना नेपाली युवालाई इजरालयको दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारको रुपमा पठाउने गरी नेपाल सरकारले अनलाइन आवेदन फारम खुलाएको छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकका लागि यहि साउन १२ गतेदेखि खोलिएको उक्त अनलाइन आवेदन फारम भर्ने समायावधि २१ दिनको रहेको छ ।
तर, आवेदन फारम भर्न धेरै युवाहरु विभिन्न निजी संस्थाहरुको साहारा लिइराखेको वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले बताए । उनका अनुसार सामाजिक सञ्जालमार्फत केही निजी क्षेत्रले विभागले आफूलाई यति कोटा दिएको छ भनि फारम भर्न आह्वान गरेकाले प्राय युवाहरु झुक्किने गरेका छन्।
उनले निजी क्षेत्रले युवाहरुलाई ठगी गर्ने नियतले सामाजिक सञ्जालमा प्रचारप्रसार गरेकाले युवाहरु नझुक्किउन भनेर विभागले पुनःसूचनासमेत जारी गरेको बताए ।
विभागका सूचना अधिकारी भट्टराईले डिसी नेपालसँग भने, ‘कुनै कुनै प्राइभेट संस्थाले पैसा उठाए रे त्यही भएर सूचना निकालेको हो । हामीले युवाहरु ठगिदैँ छन् भन्ने थाहा पाएकाले सूचना निकालेको हो ।’
नेपाल सरकार र इजरायली सरकारबीच भएको श्रम सम्झौता अनुसार खुलाइएको उक्त कोटाको जानकारी विभागको वेभसाइड (dofe.gov.np) तथा गत साउन १२ गतेको राष्ट्रिय दैनिक पत्रिका गोरखापत्रमा प्रकाशित गरिएको छ। इजरायल जान चाहने योग्यता पुगेका इच्छुक युवाहरुले विभागको वेबपोर्टल ferms.dofe.gov.np मा गएर आवेदन फारम भर्न सक्नेछन्।
विभागको सूचनामा भनिएको छ, ‘इजरायलमा केयर गिभर छनौट गरी पठाउन नेपाल सरकारसँग आफ्नो सम्झौता भएको छ भनि केहि सामाजिक सञ्जाल प्रयोग गरी आवेदन दिने व्यक्तिहरुलाई प्रलोभनमा पारी भ्रम फैलाई रकम समेत उठाउने कार्य भइरहेको भन्ने समाचारप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको छ।’
त्यसैगरी सूचनामा, ‘इजरायलका स्याहार केन्द्रहरुमा पाठाइने कामदारको छनौट प्रक्रियामा कुनै पनि निजीक्षेत्र, म्यानपावर कम्पनी, कन्सल्टेन्सी, एजेन्सी एवं व्यक्तिको कुनै प्रकारको भूमिका र संलग्नता रहने छैन, केवल नेपाल सरकार र इजरायल सरकारबीचको सम्झौता अनुसार छनौट गरिनेछ । अंग्रेजी भाषाको परीक्षाबाट छनौट भएका मध्येलाई अन्तर्वातामा बोलाइने छ’, भनिएको छ ।
साथै, विभागले ‘नेपाल सरकार र इजरायली सरकारबीच भएको श्रम सम्झौता अनुसार इजरायलका केयर गिभर सेन्टरमा पठाइने नेपाली सहयोगी कामदार छनौटका लागि कुनै पनि व्यक्ति तथा निजी संस्थासँग सम्झौता नभएको तथा अनुमती प्रदान नगरिएकाले यस प्रकारको भ्रमपूर्ण समाचारमा विश्वास नगर्न र राहदानी लगायत कुनै पनि कागजात तथा रकम नबुझाउन अनुरोध गरिन्छ,’ भनेको छ।
इजरायल रोजगारीमा पठाउन निजी क्षेत्रको अवैधानिक क्रियाकलाप बारे जानकारी गराउन प्रमाणसहित युवालाई जानकारी गराउन विभागले आग्रहसमेत गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment