प्रधानमन्त्रीसँग परिसङ्घ पदाधिकारीको भेट

डिसी नेपाल
२१ साउन २०७८ २२:४३

काठमाडौं । नेपाल उद्योग परिसङ्घको नवनिर्वाचित पदाधिकारीले प्रधानमन्त्री शरबहादुर देउवासँग भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री देउवाले परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । प्रधानमन्त्री देउवाले परिसङ्घका धारणालाई सकारात्मकरूपमा लिनुहुँदै निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने बताए ।

भेटमा परिसङ्घका अध्यक्ष अग्रवालले जनजीवन सामान्य बनाउन र अर्थतन्त्रमा गतिशीलता दिन सबैलाई खोपको व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले कोभिडको भ्याक्सिन वितरणमा उद्योगी व्यवसायी र उद्योग व्यवसायमा कार्यरत कर्मचारीलाई प्राथमिकतामा राख्न आग्रह पनि गरे ।

कोभिड– १९ को तेस्रो लहरको जोखिम बढ्दै जाँदा अस्पताल, अक्सिजनलगायतका अत्यावश्यक वस्तुको व्यवस्थापनमा जटिलता बढ्न सक्ने भएकाले अहिलेदेखै नै अक्सिजन प्लान्ट, सिलिन्डर र अस्पतालको चुस्त व्यवस्थापनका लागि पनि उनले आग्रह गरे ।

उत्पादनमुखी अर्थतन्त्र अहिलेको अपरिहार्य आवश्यकता हो भन्दै अध्यक्ष अग्रवालले त्यसलाई वास्तविकतामा परिणत गर्न नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल– स्वदेशी’ अभियान सञ्चालन गरेको जानकारी गराए ।

यसैगरी अग्रवालले नेपाल विद्युत् प्राधिकरणले छुट बिलका नाममा उद्योगी व्यवसायीलाई त्रसित बनाउने गरी बक्यौता भुक्तानीका लागि पत्राचार गरेको र हाल आएर सो को बक्यौता उठाउन ताकेता गरिरहेको भन्दै डेडिकेटेड र ट्रंक लाइन विवाद समाधानका लागि प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।

अग्रवालले गत वर्ष मौद्रिक नीतिले तरलता व्यवस्थापन र एकल दरको ब्याजदर कायम राख्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै यस वर्ष पनि अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रका लागि आवश्यक तरलता व्यवस्थापन र ब्याजदर वृद्धि रोक्ने गरी मौद्रिक नीति आउनेमा आफूहरू विश्वस्त रहेको उल्लेख गरे ।

उनले पर्यटन, हवाई उड्डयन, साना तथा मझौला व्यवसायलगायतका क्षेत्रमा कोभिडको ठूलो असर परेको बताउँदै ती व्यवसायलाई पुनःजिवित गरी अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ठूलो सहयोग आवश्यक पर्ने उल्लेख गरे ।

परिसङ्घले ह्विलिङ चार्ज तिरेर विद्युत् आपूर्ति गर्न पाउने विषय नीतिगतरूपमा सम्बोधन भए पनि त्यसको कार्यान्वयनका लागि कानूनी व्यवस्था गर्न पनि जोड दिएको छ ।

भेटमा परिसङ्घका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, महानिर्देशक यादवप्रसाद पौड्याल र निर्देशक सविन मिश्रको सहभागिता थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *