धार्मिक र प्राकृतिक सुन्दरताको संगम ‘बडीमालिका’: भदौ १ गतेदेखि नै पूजा आरम्भ हुने
बाजुरा। भू-स्वर्गको रूपमा परिचित धार्मिक तथा पर्यटकीय धाम बडीमालिकामा यस वर्षको मेला तथा पूजाआजाका लागि तयारी सुरु भएको छ। धार्मिक आस्थाको धरोहर मानिने बडीमालिकामा जनैपूर्णिमाको अवसरमा मुख्य पूजा हुने गर्दछ।
यस वर्षको मुख्य पूजा भदौ ११ गते (साउन शुक्ल चतुर्दशी) परेको भए पनि तीर्थालु भक्तजनको बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै भदौ १ गते (साउन शुक्ल पञ्चमी) देखि नै यज्ञ स्थापना गरी पूजा आरम्भ गरिने भएको छ। सदरमुकाम मार्तडीमा आयोजित सर्वपक्षीय छलफलमा मन्दिरका पुजारी नेत्रप्रसाद उपाध्यायले केही दिन अघिबाटै पूजा सुरु गर्दा दर्शनार्थीलाई दर्शन गर्न सहज हुने बताएका हुन्। छलफलले बडीमालिका र बुढीनन्दा मेलाको उचित व्यवस्थापन गर्ने निष्कर्ष निकालेको छ।
प्राकृतिक सौन्दर्य र धार्मिक विश्वास
समुद्री सतहबाट ४ हजार २ सय १९ मिटरको उचाइमा रहेको बडीमालिका क्षेत्रमा २२ पाटन, त्रिवेणी र नाटेश्वरी जस्ता प्रमुख धरोहरहरू रहेका छन्। पौराणिक मान्यता अनुसार यहाँ सतीदेवीको बायाँ काँध (कुम) पतन भएको थियो। सोही मल्लागिरी पर्वतमा बडीमालिकाको मन्दिर स्थापना गरी पूजाआजा गर्ने परम्परा रहिआएको छ।
बडीमालिका माताको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने, रोगव्याध हट्ने र सन्तान नहुनेलाई सन्तान प्राप्ति हुने जनविश्वास छ। यहाँ हिउँदमा हिउँ र वर्षात्मा कुहिरोको घुम्टोभित्र हरियाली फाँटहरूमा भेँडा र घोडाका बथानहरू रमाएको दृश्य देख्न सकिन्छ। साथै, यस क्षेत्रमा डाँफे, मुनाल, कस्तुरी र झारल जस्ता दुर्लभ वन्यजन्तु तथा पन्छीहरू पनि पाइन्छन्।
बढ्दो पर्यटकीय आकर्षण
नेपाली सेनाले करिब २ करोड रुपैयाँको लागतमा निर्माण गरेको प्यागोडा शैलीको कलात्मक मन्दिरले बडीमालिकाको आकर्षण अझ बढाएको छ। यहाँ बाजुरा, डोटी र जुम्लाबाट पूजासामग्रीसहित सरकारी टोली जाने विशेष परम्परा छ।
नेपालका साथै छिमेकी देश भारतबाट समेत हजारौँ दर्शनार्थीहरू यहाँ आउने गर्छन्। गत वर्ष करिब ५० हजार भक्तजनले बडीमालिकाको दर्शन गरेका थिए। वर्तमान प्रधानमन्त्री बालेन शाहले चुनावी अभियानका क्रममा धनगढीमा बडीमालिकालाई ‘स्विट्जरल्यान्ड’ सँग तुलना गरेपछि यस क्षेत्रको चर्चा विश्वभर थप फैलिएको र पर्यटकको आगमन बढेको स्थानीय पथप्रदर्शक (गाइड) नरबहादुर रावल बताउँछन्।
प्राकृतिक सुन्दरता र धार्मिक महत्त्वले भरिपूर्ण बडीमालिका साँच्चिकै प्रकृतिको एक अद्भुत वरदानका रूपमा रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment