३५ वर्षपछि परिवारको सम्पर्कमा आए लामिछाने

डिसी नेपाल
२३ साउन २०७८ २१:१३
244
Shares

वालिङ । आफ्ना बुवासँग उपचारका क्रममा दिल्ली पुगेका वालिङ–५ पित्लेकका एक पुरुष ३५ वर्षपछि परिवारको सम्पर्कमा आएका छन् ।

पिसाबमा समस्या देखिएपछि दिल्लीमै उपचार गर्ने र उतै अध्ययन गर्ने सोचसहित बुवासित गएका शोभाकान्त लामिछाने (शुकुन्त शर्मा) लाई सामाजिक सञ्जालमार्फत काभ्रे जिल्लाको बनेपास्थित एक होटलमा काम गरिरहेको रहस्य खुलेपछि शुक्रबार परिवारले सम्पर्क गरेका हुन् ।

करिब ११ वर्षको उमेरमा बुवासँगै दिल्ली गएको बेला चिनेकै मान्छेले काममा लगाइदिन्छु भनेर लगेको र त्यही बेलादेखि नै सम्पर्कमा नभएको आमा हिमादेवी लामिछानेले बताए । “बुवा–छोरा दुवै जना अलि सोझो खालको र काम लगाइदिएको ठाउँको ठेगाना, सम्पर्क नम्बर पनि नराखेकाले यस्तो समस्या आइपर्‍यो”, आमा हिमादेवीले भनिन्, “आफ्नै कोखबाट जन्मेको जेठो छोरो बेपत्ता भएपछि कति पीडा भयो, कति रोएँ, कराएँ सीमा नै भएन ।”

सानै उमेरमा बेपत्ता भएकाले पनि उसले यहाँको ठाउँको नाम भन्न नजानेको उनले बताए । “छोरो बेपत्ता भएपछि खोजबिनका लागि धेरै कसरत ग¥यौँ, धेरै उपायहरु लगायौँ तर अत्तोपत्तो लागेन”, उनले भने, “साँझ बिहान भगवान्लाई दियो बाल्दा पनि त्यही छोरालाई सम्झिन्थेँ, आज भगवान्ले पुकार सुन्नुभयो ।”

भीम उपाध्यायको फेसबुक पेज र काभ्रेको बनेपाबाट प्रकाशित हुने तपाईँ हाम्रो साप्ताहिक पत्रिका तथा पत्रकार साथीहरुको सहयोगमा भाइलाई फेला पार्न सफल भएको दाजु पूर्णचन्द्र लामिछानेले बताए । काठमाडौंमा रहेका आफन्तसहित पुगेर भाइलाई भेटेर अवस्थाका बारेमा जानकारी लिएर फर्किएको र आइतबार स्याङ्जा वालिङबाट आमा र भाइहरु आएपछि प्रक्रिया पूरा गरी घर लैजाने तयारीमा रहेको दाजु पूर्णचन्द्रले बताए ।

“म नजिन्मिँदै धेरै पहिला बुवासित दाजु उपचारका लागि दिल्ली जानुभएको रहेछ”, भाइ रमेश लामिछानेले भने, “दिल्लीबाट हराउनुभएको हो भन्ने सुनेको हुँ, अहिले काभ्रेको बनेपास्थित एक होटलमा काम गर्दै हुनुहुन्छ भन्ने सामाजिक सञ्जालमा देखेपछि र दाजुले भनेका कुरा र हुलिया मिलेपछि पहिचान भएको हो ।”

काठमाडौंमा रहेका गाउँका आफन्तले दाजुलाई भेटिसकेको र यताबाट लिनका लागि आइतबार (भोलि) जाने तयारी भएको भाइ रमेशले बताए । झण्डै ४६ वर्ष पुग्नुभएको दाजुलाई अब घरमा ल्याएर परिवारसँगै राख्ने र उनले पनि अब परिवारसँगै रहने इच्छा जनाएको भाइ रमेशको भनाइ छ ।

हराएको र करिब भेटिने आश मरेको छोरा भेटिएको खबरले वालिङ– ५ पित्लेकमा रहेका परिवारसँगै आफन्त, इष्टमित्र, छरछिमेकीमा खुशी छाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.