कोरोनाका कारण विदेश जाने श्रमिकको संख्यामा ५५ प्रतिशतले कमी
काठमाडौं। गत आर्थिक वर्ष (२०७७/७८)मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ५५ प्रतिशतले घटेको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनका अनुसार गत आव अर्थात् २०२० जुलाई १६ देखि २०२१ जुलाई १५ तारिखसम्ममा १ लाख ६६ हजार ६ सय ९८ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन्।
श्रम स्वीकृतिको नवीकरण गरेर र नयाँ श्रम स्वीकृति लिएर गत आवमा १ लाख ५५ हजार २ सय ४२ पुरुष र ११ हजार ४ सय ५६ महिला गरी १ लाख ६६ हजार ६ सय ९८ जना नेपाली श्रमिक विदेशीएका हुन्।
अघिल्लो आव (२०७६/७७)मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या २८ प्रतिशतले घटेको थियो। आव २०७६÷७७ मा भने ३ लाख ६८ हजार ४ सय ३३ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका थिए।
आव २०७५/७६ मा पनि त्योभन्दा बढी अर्थात् ५ लाख ८ हजार ८ सय २८ जना नेपाली वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकले देखाएको छ।
त्यसैगरी, गत आवमा ६४ हजार ९ सय ३ पुरुष र ७१ सय ७८ महिला गरी ७२ हजार ८१ जना नयाँ कामदार (नयाँ श्रमस्वीकृत लिएका) विदेशिएका छन्। अघिल्लो आवमा भने १ लाख ९० हजार ४ सय ५३ जना नयाँ कामदार वैदेशिक रोजगारीमा गएका थिए।
त्यस्तै, विभागको प्रतिवेदनका अनुसार गत आवमा १ सय १६ देशमा नेपालीहरू गएका छन्। यूएई, जापान, रोमोनिया, मलेशिया, कतार, साउदी, बहराइन, दक्षिण कोरिया, साइप्रसलगायत मुलुकमा नेपाली कामदार गएका छन् भने सबैभन्दा बढी कामदार कतारमा गएका छन्।
गत आवमा कतारमा ५३ हजार ४ सय ७२ पुरुष र १४ सय ४३ महिला गरी कूल ५४ हजार ९ सय १५ जना कामदार विदेशिएका छन् । दोस्रो स्थानमा रहेको साउदी अरबमा भने ४६ हजार ७ सय ५२ पुरुष र २ सय ८ महिला गरी कूल ४६ हजार ९ सय ६० जना कामदार गएका छन्।
त्यसैगरी, यूएईमा ३५ हजार ४ सय १ पुरुष र ५ हजार ७६ महिला गरी कूल ४० हजार ४ सय ७७ जना नेपाली श्रमिक विदेशिएको विभागको तथ्यांकले देखाएको छ।
सामान्यतया नेपालबाट वार्षिक करिब ५ लाख कामदार वैदेशिक रोजगारीमा जाने गर्छन् । तर, पछिल्लो समय कोरोनाका कारण दुई आवमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ह्वात्तै घटेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment