हुम्लामा पहिलोपटक बन्यो पक्की घाट

डिसी नेपाल
२४ साउन २०७८ ११:३३
20
Shares

हुम्ला। हुम्लामा पहिलोपटक शव जलाउने पक्की घाट बनेको छ। खार्पुनाथ गाउँपालिकाको खार्पुमा कर्णाली नदी र दोजाम कर्णाली मिसिने दोभानमा पहिलोपटक घाट निर्माण गरिएको हो। नदीको तीरमा शव जलाउँदा नदीको बहावबाट बच्न र व्यवस्थित शव जलाउनका लागि घाट निर्माण गरिएको हो।

कर्णाली नदीको तीरमा शव जलाउने घाट निर्माण भएपछि मलामीलाई सहज भएको सिमकोट गाउँपालिका–५ का पुसे रोकायाले बताए। ठेहे, सिमकोटलगायत गाउँबाट शव बोकेर घाटसम्म पुग्न दुई÷तीन घण्टा लाग्ने गरेको भए पनि पानीको बहाव बढ्दा नदी किनारमा जलाउन कठिन भइरहेका बेला घाट निर्माणले सजिलो बनाएको उनको भनाई छ।

उनले गत वर्ष घाट नहुँदा एक मलामीको अस्थायी ढुङ्गाको घाट बनाउने क्रममा झण्डै ज्यान जोखिममा परेको स्मरण गर्दै पक्की शव जलाउने घाट बनेपछि मलामीलाई शव जलाउन सहज भएको बताए।

वर्षामा नदीमा पानीको बहाव बढ्दा शव जलाउन कठिन हुने देखिएकै कारण नयाँ घाटको निर्माण गरिएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए। खार्पुमा तीनवटा पक्की घाट निर्माण गरिएका कारण अब मलामीलाई सजिलो हुने अध्यक्ष रावलले बताए।

यी घाट सिमकोट र खार्पुनाथ गाउँपालिका–११ वटा गाउँबाट लगिने शव जलाउन सहज भएको छ। नदी किनारमै अस्थायी घाट बनाएर शव जलाउँदा मलामीलाई जोखिम देखिएको र शवलाई व्यवस्थित गरेर जलाउन नयाँ पक्की घाट निर्माण गरिएको बताइएको छ।

घाट निर्माण गरेर प्रयोगमा आएसँगै यसअघि नदीको तीरमा हावा लाग्ने तथा शव राम्रोसँग नजलेरै नदीमा फाल्नुपर्ने बाध्यताबाट अब मलामीले मुक्ति पाउने विश्वास गरिएको छ। घाट निर्माण र नदीमा तटबन्धन गर्नका लागि कर्णाली प्रदेशसभामा हुम्लाबाट प्रतिनिधित्व गर्ने (ख) नम्बर क्षेत्रका सदस्य जीवनबहादुर शाहीले प्रदेश पूर्वाधार विशेष कार्यक्रमबाट रु ५० लाख बजेट विनियोजन गरेर खर्च गरिएको हो। यसका लागि खार्पुनाथ गाउँपालिकाले समन्वय गरेको थियो। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *