काेराेना कहरमा वैदेशिक राेजगारी जाने सबैभन्दा धेरै प्रदेश दुईबाट
काठमाडौं । वैदेशिक रोजगार विभागको तथ्यांकका अनुसार गत वर्ष धनुषा र सिराहाबाट सबैभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका छन्। गत आर्थिक वर्ष (२०७७/७८) अर्थात् २०२० जुलाई १६ देखि २०२१ जुलाई १५ तारिखसम्ममा ७५ वटा जिल्लामध्ये धनुषाबाट १२ हजार ६ सय ८९ जना र सिराहाबाट ९ हजार ८ सय ८८ जना युवा विदेशिका हुन्।
जसमा धनुषाबाट १२ हजार ६ सय ५५ पुरुष र ३४ महिला तथा सिराहाबाट ९ हजार ८ सय ७० पुरुष र १८ महिला विदेशिएका हुन् ।
कोरोना कहरको समयमा अर्थात् गत वर्ष वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा ५५ प्रतिशतले गिरावट आएको छ । गत वर्ष १ लाख ६६ हजार ६ सय ९८ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन्, जसमा सबैभन्दा बढी धनुषा र सिराहाबाट विदेशिएका हुन् ।
त्यसैगरी, तेस्रोमा महोत्तरीबाट ८ हजार ६८ पुरुष र ४० महिला गरी ८ हजार १ सय ८ जना विदेशिएका छन् । चौथो स्थानमा झापा रहेको छ । झापाबाट ६ हजार ४ सय ६८ पुरुष र १ हजार २२ महिला गरी ७ हजार ४ सय ९० जना युवा विदेशिएका छन् ।
त्यस्तै, मोरङ र नवलपरासी क्रमशः पाँचौं र छैठौं स्थानमा रहेका छन् । मोरङबाट ५ हजार ५ सय ६१ पुरुष र ६ सय ३० महिला गरी ६ हजार १ सय ९१ जना श्रमिक विदेशिएका छन् भने नवलपरासीबाट ५ हजार ८ सय १६ पुरुष र २ सय ६६ महिला गरी ६ हजार ८२ जना श्रमिक विदेशिएका छन् ।
त्यसैगरी, सबैभन्दा कम विदेशिने श्रमिकको संख्या क्रमशः मनाङ, हुम्ला र डोल्पाबाट रहेको छ । मनाङबाट ७ पुरुष र २ महिला गरी ९ जना तथा हुम्लाबाट १२ पुरुष र २ महिला गरी १४ जना श्रमिक विदेशिएका छन् । त्यस्तै, डोल्पाबाट १४ जना पुरुष र १ जना महिला गरी १५ जना श्रमिक विदेशिएका छन्।
विभागले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनका अनुसार गत आवमा श्रम स्वीकृतिको नवीकरण गरेर र नयाँ श्रम स्वीकृति लिएर गत आवमा १ लाख ५५ हजार २ सय ४२ पुरुष र ११ हजार ४ सय ५६ महिला गरी १ लाख ६६ हजार ६ सय ९८ जना नेपाली श्रमिक विदेशीएका हुन् ।
सामान्यतया नेपालबाट वार्षिक करिब ५ लाख कामदार वैदेशिक रोजगारीमा जाने गर्छन्। तर, पछिल्लो समय कोरोनाका कारण गएका दुई आवमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा गिरावट आएको छ।







डिसी नेपाल








Facebook Comment