पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव खारेज गर्न माग गरिएको रिट न्यायाधीश भट्टराईको इजलासमा
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव असंवैधानिक भएकोले खारेजीको माग गर्दै सर्वोच्च अदालतमा सोमबार दायर गरिएको रिटको पेशी आज न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ । मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको रिट हिजो हेर्न नभ्याइने सूचीमा परेको थियो ।
सोमबार प्रदेशसभा सदस्य लिला गिरीले मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वासको प्रस्तावले संविधानको धारा १८८ को उपधारा ४ को व्यवस्थाको उल्लंघन भएकोले अविश्वासको प्रस्ताव दर्ता खारेज हुनुपर्ने माग गर्दै रिट दर्ता गराएका थिए । ‘संविधानको धारा १८८ को उपधारा ४ को व्यवस्थाअनुसार प्रदेश प्रमुखले गल्ती गरेकोले’ रिट दर्ता गरिएको उनले बताए ।
संविधानको धारा १८८ मा मुख्यमन्त्री नियुक्त भएको २ वर्षसम्म र एकपटक अविश्वासको प्रस्ताव विफल भएको एक वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल २०७४ मै नियुक्त भएको भए पनि गएको बैशाखमा उनले पदबाट राजीनामा दिएका थिए । त्यसपछि पुनः उनी मुख्यमन्त्री नियुक्त भएका थिए ।
बैशाखमा नियुक्त भएको हिसाबले गणना गर्दा पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएको २ वर्ष पुग्दैन । पहिलो पटकको नियुक्तिको मितिबाट गणना गर्दा भने उनी मुख्यमन्त्री नियुक्त भएको २ वर्ष पुग्छ । रिट निवेदकले एक पटक राजीनामा दिइसकेर पुनः नियुक्त भएकोले पछिल्लो मिति अर्थात गएको बैशाखदेखि मात्र उनको अहिलेको कार्यकाल गणना हुने जिकिर गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ जना सांसदको हस्ताक्षरसहित साउन १९ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अविश्वासको प्रस्तावमाथि छलफल गर्न साउन २७ गतेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ । यसअघि बैशाखमा मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता रहेको अवस्थामा पदबाट राजीनामा दिएका थिए ।







डिसी नेपाल








Facebook Comment