मोहनामा आठ वर्षदेखि पुल अधुरै: निजीले बनाएको आकाशे पुल बग्यो, नदी तरेर धनगढी आउन खोज्दा बेपत्ता

डिसी नेपाल
१३ भदौ २०७८ १०:१५

धनगढी। कञ्चनपुरको कृष्णपुर नगरपालिका-८ र ९ मा पर्ने राजघाटका स्थानीयलाई नुनदेखि सुन किन्न धनगढी आउनुपर्छ। राजघाट र धनगढीे सीमा भएर बग्ने मोहना नदीमा सरकारले पुल बनाउन थालेकाे आठ वर्षमा पनि पूरा भएकाे छैन । निजी क्षेत्रबाट निर्मित आकाशे पुल पनि बिहीबार बाढीले बगाइदिएको छ।

यसअघि स्थानीय पैसा तिरेर आकाशे पुल वा नदी नै तर्न बाध्य थिए। अब त त्यो विकल्प पनि हटेको छ। पुल बगाएपछि बर्खामै नदी तर्न बाध्य भएका धनगढीका पुरन राना बेपत्ता भएका छन्। बिहीबार पुल तरेर राजघाट गएका उनी शुक्रबार बिहान धनगढी फर्कदै थिए। तर, त्यतिन्जेल पुल बगिसकेको थियो । शुक्रबार साँझ नदी तरेरै आउन खोज्दा बाढीले बगाएर उनी बेपत्ता भएको दाइ रामदाश रानाले बताए।

आठ वर्ष अघि ठेक्का लाग्यो, पुल कहिले बन्छ पत्तो छैन
सरकारले आठ वर्षअघि मोहना नदीमा पुल निर्माण थालेको थियो। तर, कहिले बन्छ अहिलेसम्म थाहा छैन। २०७१ मा पुल पक्की पुल निर्माण थालिएको हो। कृष्णपुर नगरपालिका–९ का वडा अध्यक्ष छत्र महराले पुल नहुँदा स्थानीयलाई समस्या भएको बताए। ‘हिउँदमा त्यति समस्या हुँदैन। तर, बर्खामा धनगढी जान सकस हुन्छ,’ उनले भने, ‘निजी क्षेत्रले बनाएको पुल पनि बगाएपछि बर्खामा कसरी नदी तर्नु ?’

मोहना नदीमा निर्माणाधीन पक्की पुलको ढलान भइसकेको र भरान गरेर भए पनि पैदल हिँड्नसम्म बनाउन सकिने उनले बताए। त्यसका लागि सडक डिभिजन कार्यालय महेन्द्रनगरसँग छलफल भएको छ।

स्थानीय हरि भुत्यालका अनुसार राजघाटका स्थानीयका लागि नजिकको बजार धनगढी हो। कञ्चनपुर सदरमुकाम महेन्द्रनगर जान, आउन एक दिन नै लाग्छ। तर, नदीमा पुल छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *