इजरायली विपक्षी नेता गादी आइजनकोटद्वारा नयाँ सरकार गठन गर्ने प्रतिबद्धता व्यक्त

डिसी नेपाल
१९ कार्तिक २०८३ ११:२७

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका प्रतिद्वन्द्वी एवं विपक्षी नेता गादी आइजनकोटले नयाँ सरकार गठनका सम्बन्धमा एक बयान जारी गरेका छन्।

‘अमेरिका र विश्वभरका सम्पूर्ण मित्रहरू’ को नाममा जारी गरिएको सन्देशमा उनले इजरायलका जनताले ‘परिवर्तन र वर्तमान सरकारलाई हटाउनका लागि’ मतदान गरेको बताएका छन्।

उनले सामाजिक सञ्जाल ‘एक्स’ एक्समा लेखेका छन्, ‘हाम्रो लोकतन्त्र मजबुत र जीवन्त रहेको छ। हामी यथाशीघ्र नयाँ सरकार गठनका लागि इजरायली जनताको चाहना पूरा गर्ने दिशामा काम गरिरहेका छौँ। यो राष्ट्रिय सङ्कटकालको सरकार हुनेछ।’

‘मेरो उद्देश्य इजरायललाई नयाँ नेतृत्व प्रदान गर्नु हो। यस्तो नेतृत्व जसले सम्पूर्ण इजरायलीहरूको हितमा काम गरोस्। हाम्रा साझेदारहरूसँग मिलेर हामी एउटा मजबुत इजरायल निर्माण गर्नेछौँ। यस्तो इजरायल जो यहुदी र लोकतान्त्रिक होस्, जो उदारवादी मूल्यमान्यता र सबैका लागि समानताप्रति प्रतिबद्ध होस् तथा जसलाई आफ्नो भविष्यमाथि पूर्ण विश्वास होस्।’

आइजनकोटले अगाडि लेखेका छन्, ‘इजरायल र अमेरिकाबिचको सम्बन्ध दुई सरकारबिचको गठबन्धन मात्र होइन। यो दुवै देशका जनताबिचको साझेदारी हो, जुन धेरै पुस्तादेखि चलिआएको छ। यो साझा लोकतान्त्रिक मूल्यमान्यतामा आधारित छ र हाम्रा देशहरू एकसाथ उभिँदा दुवै बढी सुरक्षित र समृद्ध हुन्छन् भन्ने विश्वासबाट मजबुत भएको हो।’

उनले आफ्नो नेतृत्वमा अमेरिकासँगको साझेदारी अझ ‘मजबुत र गहिरो’ हुने आश्वासन दिएका छन्।

उनले भनेका छन्, ‘हामी हाम्रा सहयोगीहरूसँग मिलेर यस्तो मध्यपूर्वको निर्माणका लागि काम गर्नेछौँ, जहाँ केवल सङ्घर्ष मात्र नभई अवसर र सहकार्यको पनि उपस्थिति होस्। इजरायल मध्यपूर्वमा अमेरिकाको सबैभन्दा भरपर्दो र सक्षम रणनीतिक साझेदारहरूमध्ये एक भइरहनेछ।’

‘म राष्ट्रपति ट्रम्प र उहाँको प्रशासनसँग रचनात्मक र निकट भई काम गर्न पाउने आशामा उत्साहित छु।’

उल्लेखनीय छ – गत महिनाको अन्त्यमा इजरायलमा भएको आम निर्वाचनमा नेतन्याहुको पार्टीको नेतृत्वमा रहेको गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्न सकेको थिएन।

नेतन्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ भने उनका प्रतिद्वन्द्वी गादी आइजनकोटको गठबन्धनले ४८ सिट जितेको छ।

दुई अरब पार्टीहरूका गठबन्धन ‘द जोइन्ट लिस्ट’ र ‘राम’ ले अपेक्षा विपरीत प्रदर्शन गर्दै १२० सिट रहेको इजरायली संसद् (नेसेट) मा रेकर्ड १९ सिट जितेका छन्।

यसपछि त्यहाँ सरकार गठनलाई लिएर विपक्षी दलहरूबिच वार्ता जारी रहे तापनि अहिलेसम्म कुनै निष्कर्ष भने निस्कन सकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *