बजेट कार्यान्वयन: पहिलो त्रैमासमै राष्ट्रिय सिँचाइ आयोजनाहरूको प्रगति उत्साहजनक
काठमाडाैं। चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिमा जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतका प्रमुख सिँचाइ आयोजनाहरूले बजेट कार्यान्वयन र भौतिक प्रगतिमा उत्साहजनक उपलब्धि हासिल गरेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विभागले पहिलो तीन महिनामा कुल रु २३९.३ करोड खर्च गरेको छ, जसमध्ये ८८ प्रतिशत रकम पुँजीगत अर्थात् आयोजना निर्माणको काममा उपयोग भएको विभागका महानिर्देशक दिनेश रजौरियाले जानकारी दिएका छन्।
यस अवधिमा कञ्चनपुरस्थित महाकाली सिँचाइ आयोजनाले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत उपलब्धि हासिल गर्दै रु ४३.७ करोड खर्च गरेको छ, जुन तोकिएको त्रैमासिक बजेटको साढे दुई गुणाभन्दा बढी हो।
त्यसैगरी अन्य ठूला आयोजनाहरूमध्ये बबई सिँचाइ आयोजनाले ८१.८ प्रतिशत, सिक्टा सिँचाइ आयोजनाले ८०.२ प्रतिशत र रानी जमरा कुलरिया सिँचाइ आयोजनाले ७१ प्रतिशत भौतिक प्रगति गरेका छन्।
महाकाली, बबई, सिक्टा र रानी जमरा कुलरिया गरी चार ठूला आयोजनाले मात्र रु १३९ करोड खर्च गरेका छन्, जुन विभागको सो अवधिमा भएको कुल खर्चको ५८ प्रतिशत हिस्सा हो।
अन्य आयोजनातर्फ दाङको प्रगन्ना-बड्कापथ आयोजनाले ८८.२ प्रतिशत भौतिक प्रगति हासिल गर्दा गहिरो ट्युबवेल सिँचाइ आयोजना र सिँचाइ संस्थागत विकास कार्यक्रमले शतप्रतिशत लक्ष्य पूरा गरेका छन्।
पर्याप्त पूर्वतयारी सकिएका आयोजनाहरूमा बजेट विनियोजन र निर्माणको काम दुवै तीव्र गतिमा अघि बढेको बताउँदै महानिर्देशक रजौरियाले दोस्रो त्रैमासिकमा केही ढिलाइ भएका आयोजनाहरूलाई पनि यही गतिमा ल्याउनु विभागको मुख्य प्राथमिकता हुने उल्लेख गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment