नेपालको संस्कृति र अध्यात्मलाई ‘वेलनेस पर्यटन’को ब्रान्ड बनाउनुपर्नेमा जोड
काठमाडौं । नेपालको मौलिक संस्कृति, आध्यात्मिक परम्परा, प्राकृतिक सम्पदा र जीवनशैलीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै नेपाललाई ‘वेलनेस पर्यटन’को विशिष्ट गन्तव्यका रूपमा स्थापित गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।
सन् २०२७ लाई ‘नेपाल वेलनेस पर्यटन वर्ष’का रूपमा प्रवर्द्धन गर्ने तयारी भइरहेका बेला नेपाल पर्यटन बोर्डद्वारा काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले नेपालको वेलनेस पर्यटन आफ्नै मौलिक पहिचानमा आधारित हुनुपर्ने बताएका हुन्।
कार्यक्रममा अन्तर्राष्ट्रिय वेलनेस विज्ञ निगेल फ्र्याङ्कलिनले नेपालसँग विश्व वेलनेस पर्यटन बजारमा छुट्टै पहिचान बनाउने प्रचुर सम्भावना रहेको बताए। दुई दशकभन्दा लामो समयदेखि विश्वका प्रतिष्ठित लक्जरी होटल तथा वेलनेस संस्थाहरूमा काम गरिसकेका फ्र्यांकलिनले अन्य देशको अवधारणाको नक्कल नगरी नेपालका मन्दिर, संस्कृति, परम्परा र समुदायसँग जोडिएका अनुभवलाई पर्यटनसँग गाँध्नुपर्नेमा जोड दिए। उनले वेलनेस पर्यटनलाई स्पा र आराममा मात्र सीमित नराखी आत्मिक शान्ति, प्रकृतिसँगको सम्बन्ध र मौलिक जीवनशैलीसँग जोड्नुपर्ने धारणा राखे।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक लक्ष्मण गौतमले नेपालको पहिचान मुख्यतः हिमाल र पर्वतारोहणमा मात्र सीमित रहेकाले वेलनेस पर्यटनको छुट्टै पहिचान निर्माण गर्न आवश्यक रहेको बताए। मौलिक सम्पदाको संरक्षण र आर्थिक लाभबीच सन्तुलन कायम गर्दै प्रकृति, संस्कृति र जीवनशैलीलाई पर्यटन उत्पादनका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो।
सो अवसरमा सन् २०२७ को वेलनेस पर्यटन वर्षको तयारी, अन्तर्राष्ट्रिय बजारीकरण तथा सार्वजनिक-निजी साझेदारीका विषयमा गहन छलफल भएको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment