कांग्रेस महाधिवेशनमा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग

डिसी नेपाल
२३ भदौ २०७८ १९:४१
28
Shares

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घले पार्टीको १४औँ महाधिवेशनमा आफ्नो समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ ।

सङ्घका अध्यक्ष अब्दुल सत्तार नेतृत्वको टोलीले पार्टीको १४औँ महाधिवेशनमा आफ्नो समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै आज पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको हो । पार्टीको प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट आफूहरुलाई प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचन निर्देशिका सच्याउन पार्टी नेतृत्वलाई दबाब दिन धर्नामा बसेको अध्यक्ष सत्तारले बताए ।

उनले आफूहरुले राखेको माग सम्बोधन नभएसम्म पार्टी केन्द्रीय कार्यालयको धर्ना कार्यक्रमलाई निरन्तरता दिइने स्पष्ट पारे । “पार्टीभित्र आफ्नो समुदायले प्रवेश नै नपाउने गरी निर्देशिका आएकाले धर्ना सुरु गरेका हौँ”, उनले भने ।

मुस्लिम सङ्घले आफ्नो समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउने पार्टीको विधानअनुसार महाधिवेशन प्रतिनिधि चयन हुने गरी निर्देशिका सच्याउन माग गर्दै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाइसकेको बताएको छ । कांग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.