काठमाडौंका सीडीओको आदेश: चाडपर्वमा भिडभाड नगर्नू, सिट क्षमताभन्दा बढी यात्रु नराख्नू
काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले चाडपर्वमा भिडभाड नगर्न आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी काठमाडौंवासीका नाममा चाडपर्वकेन्द्रीत आदेश जारी गरेका हुन्।
आदेशमा कोभिड १९ संक्रमण कायमै रहेकाले चाडपर्वहरु स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा सकेसम्म घरभित्र परिवारका व्यक्तिहरु मात्र सामेल हुनेगरी मनाउन भनिएको छ। अनावश्यक रुपमा मानिसहरु घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्ने/नगराउने भनिएको छ।
मास्कको अनिवार्य प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, समय समयमा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्न पनि अनुरोध गरिएको छ।
सर्वसाधारण व्यक्ति, समूह तथा संस्था लगायतका निकायहरुबाट आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधिहरुमा पनि यो मापदण्ड पालना गर्न भनिएको छ।
प्रशासनले नजिकिँदै गरेको चाडपर्वको समयमा बढी भिडभाड एवं जोखिमयुक्त क्षेत्रहरु एवं यात्रा गर्दा हुन सक्ने चोरी, ठगी, लुटपाटजन्य गतिविधिबाट सर्वसाधरण सचेत रहन अपिल गरेको छ । यात्रा गर्दा आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट काटेर यात्रा गर्न र सवारी साधनको छतमा यात्रा नगर्न भनिएको छ।
क्षमताभन्दा बढी यात्रु नराख्नु
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक यातायात सञ्चालकलाई पनि विभिन्न आदेश गरेको छ। जसमा काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनहरु स्वीकृत सिट क्षमताअनुसार सञ्चालन गर्न भनिएको छ।
कुल स्वीकृत सीट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउने, मास्क नलगाउने यात्रुलाई सबारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क र भाइजर र पन्जा लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइज गर्नु पर्ने भनिएको छ।
सार्वजनिक सेवा प्रदायक निकाय लगायत बैंक तथा वित्तीय संस्थाले सेवा प्रवाह गर्दा सामाजिक दूरी कायम हुने र स्वास्थ्यका मापदण्डको पालना हुनेगरी सेवा प्रवाह गर्ने र यथासम्भव अनलाइन माध्यमबाट सेवा प्रदान गराउन आदेश गरिएको छ।
उद्योग, कलकारखाना, होटेल, रेष्टुरेण्ट, सिनेमा हल, व्यायामस्थल लगायतका स्थान सामाजिक दूरी कायम राखी स्वास्थ्यका मापदण्डको पालना हुने गरी सञ्चालन गर्न पाउने भनिएको छ । सञ्चालन गर्दा कामदार कर्मचारीको समय समयमा एण्टीजेन, च्यापिड एण्टीजेन तथा कोभिड-१९ परीक्षण गर्ने गराउने, आफ्नो व्यवसाय परिसर निसङ्क्रमित (डिसइन्फेक्ट) गर्ने गराउने भनिएको छ।
औषधिलगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृतिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउने, सहज आपूर्तिमा अवरोध गर्नेलाई कारवाही गरिने पनि आदेशमा चेतावनी दिइएको छ।







डिसी नेपाल








Facebook Comment