यो वर्ष फूल उत्पादनमा कमी

डिसी नेपाल
१६ असोज २०७८ १८:१८
32
Shares

काठमाडौं ।  कोरोनाको कारण यो वर्ष फूल उत्पादनमा कमी आएको छ । कारोना महामारीका कारण यस क्षेत्रका व्यवसायीले विगतका वर्षमा झै लगानी नगरेकाले फूल उत्पादनमा कमी आएको हो ।

फूल लगाउने समय फागुनदेखि साउनसम्म रहेको र उक्त समयमा कोरोनाको कारण व्यवसायीले लगानी गर्न सकेका थिएनन्, जसको असर फूल उत्पदनमा पनि देखिएको छ, फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।

“यस वर्ष बजार माग बढेको छ”, तामाङले भने, “माग बढी र उत्पादन कम भएपछि यस वर्ष तिहारको समयमा भारतबाट सयपत्री फूलको माला विगत वर्षको तुलनामा धेरै ल्याइन्छ ।” यस वर्ष विगत दुई वर्षको तुलनामा १५ प्रतिशत फूलको माग रहेको बताइएको छ । कारोनाका कारण दैनिकरुपमा रु एक करोडको नोक्सान व्यहोरिरहेको पुष्प व्यवसायले अहिले दैनिक करिब रु ५० लाखको कारोबार गर्न थालेको छ ।

कोरोना महामारी हुनुभन्दा पहिले असोजदेखि फागुन महिना फूलको बढी कारोबार हुने मौसम हो । अहिले राम्रोसँग कारोबार हुने समय पनि भएको र कोरोना सङ्क्रमणदर पनि विस्तारै हट्दै गइरहेकाले यस व्यवसायले गति समाएको हो । विश्वभरि फैलिएको कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले विगत डेढ वर्षदेखि नै राम्रो आम्दानी गर्न नसके पनि पछिल्लो समय विस्तारै तङ्ग्रिन थालेको छ ।

त्रासकै बीच लामो समयदेखि बन्द रहेको अन्य केही व्यवसाय विस्तारै खुला हुन थालेसँगै उक्त व्यवसायले पनि लय समातेको हो । अझै पनि मठमन्दिर, होटल, पार्टी प्यालेस र पर्यटन व्यवसाय पूर्णरूपमा सञ्चालनमा नआएका यस क्षेत्रले नोक्सानको सामना गर्नुपरेको फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.