‘ट्याक्स हेभन’ मुलुकमा विनोद चौधरीसहित परिवारका पाँच जनाको लगानी

डिसी नेपाल
१७ असोज २०७८ २२:३३
1.6k
Shares

काठमाडौं । नेपाली ‘कानूनमा रहेका छिद्रको उपयोग गरी वैधानिक रूपमै विदेशमा लगानी गरेको’ बताउने विनोद चौधरी सहित उनको परिवारका पाँच जनाले ट्याक्स हेभन मुलुकमा लगानी गरेको फेला परेको छ ।

आईसीआईजेले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’लाई उपलब्ध गराएको विवरण अनुसार चौधरी परिवारका सदस्यहरूको नाममा ब्रिटिश भर्जिन आइल्याण्डमा तीन, सिंगापुरमा एक र पनामामा एक कम्पनी दर्ता छ ।

प्यान्डोरा पेपर्स’ अनुसार ब्रिटिश भर्जिन आइल्याण्डमा सिनोभेसन इन्कर्पोरेटेड, सिजी होटल्स एण्ड रिसोर्ट लिमिटेड, सेन्सेइ क्यापिटल पार्टनर्स इंक र सिंगापुरमा सिजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडी नामका कम्पनी चौधरी परिवारका सदस्यहरूको नाममा दर्ता छ ।

चौधरीले आफ्नो पुस्तक तथा विभिन्न अन्तर्वार्तामा विदेशमा कानूनसम्मत लगानी गरेको र त्यसको वैधतामा प्रश्न उठाउने ठाउँ नरहेको बताउने गरे पनि उनले कर छल्ने उद्देश्यले खोलिएका कम्पनीमा नेपालको कानून विरुद्ध हुने गरी लगानी गरेको ‘प्यान्डोरा पेपर्स’ लिक्सका विवरणले देखाउँछ ।

‘प्यान्डोरा पेपर्स’ लिक्सका अनुसार, चौधरीले गरेको नेपाली कानूनका छिद्रको उपयोग, त्यसको वैधतामाथिको प्रश्न र उनका साझेदारमाथि मनी लाउण्डरिङ आशंकाको विषयमा स्पष्ट हुन उनकै आत्मकथामा उल्लेख सूचना केलाउनुपर्ने हुन्छ ।

‘मेरा लागि सबैभन्दा ठूलो चुनौती थियो कानूनले छोडेका छिद्रहरू पहिल्याउने र यस्तरी पाइला सार्ने ताकि, मेरो विदेशी लगानीमाथि कसैले कानूनी प्रश्न उठाउन नसकोस्’ सन् २०१३ मा प्रकाशित ‘विनोद चौधरी स् आत्मकथा’ शीर्षकको पुस्तकमा चौधरीले भनेका छन् । त्यसका लागि आयकर ऐनको ‘बासिन्दा व्यक्ति’ सम्बन्धी प्रावधानलाई उनले ‘छिद्र’ को रूपमा व्याख्या गरेका छन् ।

“वर्षको १८३ दिनभन्दा बढी विदेश बस्ने नेपाली नागरिक गैरआवासीय नेपालीको रूपमा दरिन्थ्यो । उसले विदेशमा लगानी गर्न छूट पाउँथ्यो” चौधरीले भनेका छन्, “मैले यसैको फाइदा उठाउँदै वर्षको १८३ दिनभन्दा बढी विदेश बसेर आफ्नै देशको अस्थायी नागरिक बन्ने निर्णय गरें । आज मेरा दुई जना छोरा राहुल र बरुणले गैरआवासीय नेपालीको हैसियतमा विदेशको कारोबार गरिरहेका छन् ।”

तर, प्यान्डोरा लिक्स अनुसार, उनकी श्रीमती सारिकादेवी र जेठा छोरा निर्वाण (दुवै नेपाली नागरिक हुन्) को नाममा समेत ब्रिटिश भर्जिन आइल्याण्डमा लगानी भेटिएको छ । अर्थात् ब्रिटिश भर्जिन आइल्याण्डको सिनोभेसन इन्कर्पोरेटेडमा उनी सहित परिवारका पाँच जना सदस्यको लगानी रहेको भेटिएको छ । सिंगापुरको सिजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडीमा भने उनका तीन छोरा र श्रीमतीको लगानी छ । अर्कोतर्फ चौधरीले आयकर ऐन–२०५८ को व्यवस्थाको उल्टो व्याख्या गरेर विदेशमा लगानी गरेको जानकारहरूको टिप्पणी छ । ‘अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सोभन्दा बढी नेपालमा रहेको व्यक्ति’ लाई ‘बासिन्दा व्यक्ति’ सम्झनुपर्छ भनी आयकर ऐनले व्यवस्था गरेको छ ।

“यो व्यवस्थालाई उहाँले गलत रूपमा प्रयोग गर्नुभएको छ” पूर्व अर्थ सचिव रामेश्वर खनालले भने, “यो व्यवस्थाले नेपालबाट विदेशमा पैसा लैजाने र त्यहाँ लगानी गर्नका लागि छुट दिएको हैन । कुनै नेपाली नागरिक १८३ दिन विदेशमा बस्छ, त्यसपछि उसले आम्दानी गर्छ भने विदेशमै लगानी गर्न पाउँछ ।” तर चौधरीले नेपालबाटै रकम लगेर विदेशमा लगानी गरेको हुुँदा उनको दाबी ‘तर्कसंगत’ नभएको खनालको प्रतिक्रिया छ ।

“नबिल बैंकको विदेशी लगानीकर्ताले पाउने लाभांश रकम विदेश लगिएको छ” खनालले भने, “तर त्यो कम्पनीको मालिक त उहाँ नै हुनुहुँदोरहेछ । त्यही रकमबाट उहाँले विदेशमा लगानी गर्नुभएको हुनसक्छ । नेपालबाट लगिएको रकमलाई उहाँले विदेशमा बस्ने छोराहरूले कमाएको हो, भनेर पुष्टि गर्न खोज्नुभएको छ जुन गलत हो ।” यस आधारमा पनि चौधरीले विदेशमा गरेको लगानीको वैधतामाथि प्रश्न खडा भएको छ ।

अर्कोतर्फ दुई छोरा (जो गैरआवासीय हैसियतमा छन्) बाहेक विनोद, उनका जेठा छोरा निर्वाण र श्रीमतीको नाममा समेत विदेशमा लगानी गैरकानूनी हो । किनभने नेपाली कानून ९विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१० ले राष्ट्र बैंकको अनुमति बेगर विदेशमा लगानी गर्न पाइँदैन । यस कानून बमोजिम विदेशमा लगानी गर्ने भए नेपाल राष्ट्र बैंकबाट अनुमति लिएको हुनुपर्छ । तर, ‘प्यान्डोरा पेपर्स’ ले खुलासा गरेका केही कम्पनीमा लगानी गर्न राष्ट्र बैंकबाट विनोद, उनका जेठा छोरा निर्वाण र श्रीमती सारिकाले अनुमति नलिएको राष्ट्र बैंक स्रोत बताउँछ ।

“विदेशीले ब्रिटिश भर्जिन आइल्याण्डस्थित सिनोभेसन कम्पनीमा ५० हजार थान कित्ता शेयर गिफ्ट पाएको हुनाले त्यसमा आफ्नो नाम रहने गरी विनोदले अनुमति लिएका छन्” राष्ट्र बैंक स्रोत भन्छ, “यस बाहेक अन्य कुनै पनि कम्पनीमा लगानी गर्न विनोद, निर्वाण र सारिकाले अनुमति लिएको विवरण हामीले फेला पारेनौं ।”

हाम्रो खोजमा पनि सिनोभेसनका लागि अनुमति लिएको बाहेक अरू कुनै पनि विदेशी कम्पनीमा लगानी गर्न चौधरीले राष्ट्र बैंकबाट अनुमति लिएको तथ्य सार्वजनिक अभिलेखमा फेला परेन ।

उल्लिखित आरोपहरूमाथि चौधरी ग्रुपले छोटो प्रतिक्रिया दिंदै नेपाल र विदेशी कानूनको उल्लंघन नगरेको जनाएको छ । “मेरा बुवा एवम् सीजीका अध्यक्षका अनुसार सिनोभेसन र हाम्रा सबै कम्पनी समूहले विदेशी लगानी सम्बन्धी नेपाली कानून सहित लागू भएका सबै कानून पालन गरेका छन् । त्यसैले तपाईंको इमेलमा उल्लिखित अनुसन्धान सम्बन्धमा हाम्रा थप टिप्पणी र विचार छैनन्” खोज पत्रकारिता केन्द्रका लागि वाशिङ्टन पोष्टका पत्रकार पीटर होरिस्कीले सोधेको प्रश्नमा जवाफ दिँदै राहुल चौधरीले भनेका छन् ।

-खोज पत्रकारिता केन्द्र


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *