गाईलाई बचाउन खोज्दा यात्रुवाहक बस दुर्घटना, १४ जनाको घटनास्थलमै मृत्यु

डिसी नेपाल
२१ असोज २०७८ १३:३२
6.3k
Shares

काठमाडौं। सडकमा हिँडिरहेको छाडा गाईलाई बचाउने क्रममा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ३० जना यात्रु घाइते भएका छन् । भारतको उत्तर प्रदेशको बाराबंकीमा बिहीबार पर्यटक बोकेको बस दिल्लीबाट बहराइच जाने क्रममा दुर्घटना भएको हो । भारतीय मिडियाका अनुसार बिहीबार बिहान ५ बजेतिर दुर्घटना भएको हो ।

बाराबंकीका चीफ मेडिकल अफिसर राम सिंहलाई उद्धृत गर्दै भारतीय मिडियाले जनाएअनुसार दुर्घटनामा १२ पुरुष, एक महिला र एक बालकको ज्यान गएको छ । पुलिसका अनुसार तीब्र गतिमा गुडिरहेको बसको अगाडि अचानक गाई आएपछि बचाउने क्रममा विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो । बस र ट्रकलाई छुट्याएर त्यहाँ फसेका यात्रु र शवलाई निकाल्न जेसीबीको सहयोग लिइएको थियो ।

दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् । प्रधानमन्त्रीले राहत कोषबाट मृतकहरुलाई २–२ लाख र घाइतेहरुलाई ५०–५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । मुख्यमन्त्री योगी आदित्यनाथले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् । जिल्ला प्रमुख डा. आदर्श सिंह घाइतेहरुको अवस्थाबारे बुझ्न जिल्ला अस्पताल पुगेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *