दसैँ व्यापार खस्कियो

डिसी नेपाल
२८ असोज २०७८ १६:५३

तनहुँ । नेपालीहरूको महान पर्व दसैँको नवौँ दिन महानवमीसम्म पनि जिल्लाका बजार क्षेत्रमा चहलपहल निकै छ । पढाइ, जागिर, व्यापार व्यसायको सिलसिलामा जिल्ला बाहिर बसोबास गर्नेहरू दसैँ मान्न गाउँ फर्किरहेका छन् । ग्रामिण क्षेत्रमा चल्ने सवारी साधनमा यात्रुको चाप अत्याधिक छ । तर, बजारमा व्यापार भने उतिसारो छैन । व्यापारीका अनुसार वर्षेनी व्यापार घट्दो छ । बजारमा देखिएको चहलपहलको तुलनामा व्यापार निकै कम भएको व्यापारीहरू बताउँछन् ।

व्यापार छैन

हुने खाने र भए खाने सबै वर्गले एकसरो कपडा फेर्ने र मिठो मसिनो खाने पर्वको रुपमा परिचित थियो दसैँ । दसैँको यो परिचय फेरिँदो छ । परिचयसँगै फेरिदैँछ दसैँको व्यापार पनि । विशेष गरेर दसैँमा किनमेल हुने कपडा, खाद्यन्नको व्यापार घट्दो छ ।

पाँच वर्षयता कपडाको व्यापारमा कमि हुँदै गएको व्यापारीहरू बताउँछन् । दसैँको बेलामा भ्याइनभ्याइ हुने फेन्सी व्यवसायी ग्राहक कुरेर बस्न बाध्य छन् । दसैँमा हुने कपडाको व्यापार घटिरहेको दुलेगौँडाका फेन्सी व्यवसायी सञ्जिव श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार घटिरहेको व्यापार पोहोर साल कोरोनाले ठप्प भयो । यसपालि चहलपहलसँगै व्यापार पनि बढ्दो छ । तर, उत्साहजनक भने छैन । ‘

अहिले नयाँ कपडा लगाउनलाई दसैँ नै कुर्नपर्छ भन्ने छैन । अरु बेला पनि आफ्नो आवश्यकताअनुसार नयाँ कपडा किनमेल हुन्छ । अहिले त विशेष गरी दसैँमा कपडा बच्चाका लागि मात्र किनमेल हुने गरेको छ’, श्रेष्ठले भने । गाउँ–गाउँमा पुगेका सडकसँगै बजार पनि विस्तार भएकाले व्यापार घटेको उनको विश्लेषण छ ।

असोजदेखी पुषसम्म कपडाको व्यापार हुने याम हो । तर, यही याममा पनि व्यापारीमा उत्साह छाउन सकेको छैन । श्रेष्ठका अनुसार तिहारका बेला भने पछिल्ला वर्षमा कपडा किनबेच बढेको छ । दिदीबहिनीले दाजुभाइलाई तिहारको भाइटीकासँगै कपडा उपहार दिने चलन बढेकाले व्यापार पनि बढेको उनको भनाइ छ ।

कपडाको जस्तै भएको छ खाद्यन्नको व्यापार । अरु बेला र दसैँको व्यापारमा कुनै फरक नभएको किराना व्यवसायी राजेश गुप्ताले बताए । उनी भन्छन्, ‘सोचेझैँ व्यापार छैन । गाउँ घरमा ठूला पसल खुलेका कारण उपभोक्तालाई किनमेल गर्न बजार झर्नुपर्ने बाध्यता हुदैन । बजार क्षेत्रका होलसेल व्यापारीले सवारी साधनमा सामान लिएर गाउँगाउँ पुग्छन् । त्यसैले पनि सधैँको व्यापार एकनासको छ ।’ अहिले मिठो मसिनो खानलाई दसैँ नै कुर्नुपर्दैन ।

अरु व्यापार घटेपनि विद्युत्तीय सामाग्रीको व्यापार भने दसैँ तिहारमा उकालो लागिरहेको छ । यो बेला ग्राहकले फ्रिज बढी खरिद गर्ने इलोक्ट्रोनिक व्यवसायी सुरेन्द्र पौडेलले बताए ।

उनी भन्छन्, ‘इलोक्ट्रोनिक सामानको विक्री बर्षेनी बढ्दो छ । दसैँमा फ्रिज किन्नलाई वर्ष दिनदेखि ग्राहक कुरिरहेका हुन्छन् ।’ फ्रिजसँगै टिभी, मोबाइल, वासिङ मेसिन लगायतका विद्युतीय सामाग्रीको विक्री पनि दसैँको बेला बढेको व्यापारीहरू बताउँछन् ।

तनहुँमा सदरमुकाम दमौलीसँगै दुलेगौँडा, खैरेनीटार, भिमाद, डुम्रे, आँबुखैरेनी बजारमा ग्रामणि क्षेत्रबाट किनमेल गर्न उपभोक्ताको आउजाउ हुन्छ । छिमेकी जिल्ला स्याङजा, लमजुङ गोरखा, नवलपुर र पाल्पाका केही ग्रामिण क्षेत्रका उपभोत्ता पनि किनमेलाका लागी तनहुँका बजारमा आउने गर्दछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *