उठाउने बेलाको धानबाली वर्षाले सखाप, चिन्तामा किसान

डिसी नेपाल
४ कार्तिक २०७८ ६:३३

झापा। गौरीगंज- १ का किसान हरिप्रसाद श्रेष्ठले चार बिघा क्षेत्रफलमा धान खेती लगाएका थिए। कतै धान पाक्न सुरु भएको थियो, कतै पसाउन सरु भइसकेको थियो। तर, बेमौसमी अविरल वर्षाले उनको धान खेती सखाप पार्‍यो।

धानमा अहिले कन्काई माई नदीको ठूलो भङ्गालो कुदिरहेको छ। ‘अब त धान घरमा भित्र्याउने आस छैन। धानबालीमा नदी कुदिरहेको छ। यस्तो देख्दा कसको मन मान्छ र?’, उनी भन्छन्, ‘किसानलाई सधैँ समस्या। जसरी पनि किसानलाई नै समस्या हुन्छ।’

यस पटक धानका बाला पनि राम्रो लागेको थियो। विगतको तुलनामा धेरै धान घरमा भित्र्याउन पाइन्छ कि भन्ने आसमा थिए हरिप्रसाद। धान पाक्ने बेलामा यसरी सखाप हुने उनले कल्पना नै गरेका थिएनन्।

‘हामी सधैँ माई नदीका बाढीपीडित हौँ। अरू बेला धान रोप्ने बेलामै बाढीले खेत बगाउँथ्यो। यस पटक धान त मजाले रोप्न पायौँ’, उनी भन्छन्, ‘कात्तिकमा त कल्पना नै गरेका थिएनौँ । यस्तो के भएका होला ? अचम्ममा छौँ। असार-साउनमा नआएको बाढी कात्तिकमा आएर पाक्न लागेको सबै धान लगिदियो।’

गौरीगंज- १ का भगतलाल राजवंशीले एक बिघा क्षेत्रफलमा ऋण गरेर खेती लगाएका थिए । धान फलाएर बेचेर तिर्ने शर्तमा खेतीका लागि लिएको २० हजार रुपैयाँ ऋण अझै उनको थाप्लोमा छ। तर, धान बेचेर ऋण तिर्ने उनको सपना चकनाचुर भएको छ। उनले ट्याक्टर लगाउन, रासायनिक मल खरिद गर्न र जनमन लगाउन ऋण लिएका थिए।

‘ट्याक्टरलाई त धान उठाएर दिने भन्ने शर्त थियो। जनमन र मलको खर्चचाहिँ ऋण लिएर तिरेँ’, उनी भन्छन्, ‘अब कसरी ऋण तिर्ने ? भएको धान खेत बगर भयो । हाम्रो त वर्षभरि खाने मेलो नै यही खेत हो। अब एक कसरी जीवन चलाउने होला?’

राजवंशीले धान रोपेको खेतमा अहिले कन्काई माई नदी बगिरहेको छ । ‘बरु असारमै यस्तो भएको भए ऋण त लाग्ने थिएन’, उनी भन्छन्, ‘यत्रो खर्च र मिहिनेत गरेर पाक्ने बेलामा यस्तो भयो ।’

जिल्लामा अधिकांश ठाउँमा धानबाली नष्ट भएको छ । कतै पाक्ने अवस्थामा त कतै पसाउन लागेको धानमा ठूलो क्षति पुगेको हो । पाक्न लागेको धान पानीमा डुबेको छ ।

कृषि ज्ञानकेन्द्र झापाका अनुसार यस वर्ष झापामा ८७ हजार ५०० हेक्टरमा धान खेती भएको थियो । ५० प्रतिशत धानबालीमा क्षति पुगेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख नीलकमल सिंहले जानकारी दिए । खेतमा अझै केही दिन धान डुबे कामै नलाग्ने अवस्थामा पुग्ने उनले बताए ।

‘केही धान त पाक्ने अवस्थामा थियो । धेरै धान लडेको छ। अब यो उठाउन संभव छैन । ५० प्रतिशत धानबालीमा क्षति पुगेको छ । विवरण संकलन गर्ने काम पनि धमाधम भइरहेको छ’, उनले भने, ‘बिउका लागि त अब यो धान काम लाग्दैन । पानी जमेको खेतलाई सुख्खा बनाएर डुबेको धान सुकाउन सके खाद्यान्नका लागि काम लाग्न सक्छ।’

धानबालीबाहेक कृषकले लगाएको सागसब्जीमा समेत बेमौसमी वर्षाले असर पारेको ज्ञानकेन्द्रले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *