कोरोनाका कारण जनता मरेपछि राष्ट्रपतिविरुद्ध हत्या मुद्दा चलाउन संसदमा सिफारिस
काठमाडौं। ब्राजिलका राष्ट्रपति जायर बोल्सेनारोमाथि कोरोनाको गलत व्यवस्थापन गरेकोमा मानव हत्यासहित अन्य १३ आरोप लगाउँदै उनीविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ । रोयटर्सको रिपोर्टअनुसार यो सिफारिस कोरोना महामारी नियन्त्रणका तरिकाहरुको जाँच गर्न गठित संसदीय दलको नेतृत्वकर्ता सिनेटर रेनान क्यालहेरोसले गरेका हुन् ।
रेनानले तयार गरेको करिब १२०० पानाको दस्तावेजमा बोल्सेनारोले सरकारको लागि खोप प्राप्त गर्ने सुरुवाती अवसरहरुलाई अस्वीकार गरेको आरोप लगाइएको छ । राष्ट्रपतिले प्राप्त अवसरको सदुपयोग नगर्दा ब्राजिलमा खोप अभियानमा ढिलाइ भएको र यसका कारण अनुमानित रुपमा ९५ हजार जनाको ज्यान गएको दस्तावेजमा आरोप लगाइएको छ ।
रिपोर्टमा राष्ट्रपति बोल्सेनारोका तीन छोराहरु सिनेटर फ्लेभियो, फेडरल डेप्युटी एडुआर्डो र नगर पार्षद कार्लोसविरुद्ध पनि गलत सूचना फैलाएको अभियोगमा मुद्दा दर्ता गर्न सिफारिस गरिएको छ । ड्राफ्ट रिपोर्टमाथि सिनेटमा अर्को हप्ता मतदान हुनेछ ।यसलाई भिटो गर्न सकिनेछ वा बदल्न पनि सकिनेछ । राष्ट्रपतिले भने यसलाई राजनीतिबाट प्रेरित भनेका छन् ।







डिसी नेपाल







Facebook Comment