दीपावली आउनै लाग्दा माटोको भाँडा बनाउन भ्याइनभ्याइ

डिसी नेपाल
५ कार्तिक २०७८ १७:४१

काठमाडौं । तिहार आउनैलाग्दा भक्तपुरका कुमाले समुदायलाई माटोका भाँडा बनाउन र बिक्री गर्न भ्याइनभ्याइ भएको छ। तिहारको लागि आवश्यक सामग्री फलफूल, सयपत्री र मखमली फूलको माला, भाई मसलासँगै दियो बाल्ने पालाकोसमेत खपत र माग दिनानुदिन बढ्दो छ ।

बजारमा पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई भ्याइनभ्याइ भएको छ । तालक्व (पोटरी स्क्वायर) का हरिशरण प्रजापतिले भने ‘तिहार आउन अझै हप्ता दिनभन्दा बढी समय बाँकी छ । हप्ता दिनभित्र मागअनुसारको पाला पठाउन नसके बनाएको व्यर्थ हुन्छ ।”

उनका अनुसार अचेल तालक्वका कुमाले समुुदायको दिनचर्या नै पाला तयार गर्ने कार्य मै बित्ने गरेको छ । तिहारमा पालाको उच्च माग हुने भएपछि यतिखेर उनीहरुले अन्य माटाका भाँडा बनाउने कामलाई थाँती राखेका छन् । तिहारमा लक्ष्मी पूजाका लागि बाहिरी जिल्लाबाट समेत पालाको माग आउने भएकाले गमला, धुपौरो, खुत्रुकेलगायत विभिन्न पर्यटकीय सामग्री बनाउने कामलाई थाँती राखेर पाला बनाउने काममा व्यस्त भएको उनले बताए ।

‘बिहान सबेरै उठने हो, चिया नास्ता गर्ने, अनि अघिल्लो दिनमै तयार गरिराखेको माटोलाई थप तयार गरी पाला बनाउने, सुकाउने र सुकिसकेको पालालाई क्युमा बसेर पोलेर तयार गरी मागअनुसार बजार पठाउने काममा नै व्यस्त छौँ । अहिले अन्य भाँडाकुँडा बनाउन फुर्सद छैन”, उनले भने । अहिले भक्तपुरका तालक्वका कुम्हाले मात्र होइन सुजमारी, लिवाली, तुमुचो, च्याम्हासिंह र सूर्यविनायकका कुमालेसमेत अन्य भाँडा बनाउने कार्यलाई थाँती राख्दै पाला बनाउने कार्यमा तल्लीन छन् ।

जिल्लामा उत्पादन गरेको पाला उपत्यकालगायत काभ्रेको बनेपा, धुलिखेल, पनौती, धादिङको धादिङवेशी, नुवाकोटको त्रिशूलीका साथै पोखरा, हेटौँडा, चितवनका व्यापारीलेसमेत लिन आउने गरेको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *