एनआरएनए मेरिल्याण्ड च्याप्टरको कार्यालय उद्घाटन,अभियन्ताहरूले गरे प्रसंसा

डिसी नेपाल
१४ कार्तिक २०७८ २३:३८

बाल्टिमोर । गैरआवासीय नेपाली संघ, अमेरिकाको मेरिल्याण्ड च्याप्टरले अक्टोबर ३० तारिकदेखि आफ्नो कार्यालयबाटै कार्यारम्भ गरेको छ । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिका क्षेत्रीय संयोजक राजन त्रिपाठी, अवैतनिक महाबाणिज्यदूत प्रेमराजा महत र एनआरएनए, अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले संयुक्तरुपमा रिवन काटेर कार्यालयको उद्घाटन गरेका थिए । कार्यालय बाल्टिमाेरकाे पार्कभिलमा राखिएकाे छ ।


उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, एनआरएनए आईसीसीको आगामी निर्वाचनमा कोषाध्यक्ष पदका उम्मेद्वारसमेत रहेका राजन त्रिपाठीले अमेरिकामा मेरिल्याण्ड च्याप्टरले आफ्नै कार्यालयबाट काम शुरु गरेर ऐतिहासिक काम गरेको भन्दै प्रसंसा गरेका थिए । उनले एनआरएनएमा देखिएका विवाद छिटो समाधान हुने विश्वास व्यक्त गर्दै आफूले सिकेका ज्ञान शिपलाई नेपाली समुदायको हितमा लगाउन आह्वान गरे । उनले आफू क्षेत्रीय संयोजक हुंदा अमेरिकाज क्षेत्रमा संगठन विस्तारमा लागेको, एनआरएनए अमेरिकाविरुद्ध मुद्धा हाल्ने साथीसंगसमेत सहमती गराउन सफल भएको धारणा राख्दै अभियानमा निरन्तरताका लागि आफूले केन्द्रिय कोषाध्यक्ष पदमा उम्मेदारी दिएको बताएका थिए । युवा, महिला र विद्यार्थीहरुका विषयलाई महत्वसाथ उठाउने र उनीहरुलाई एनआरएन अभियानामा सहभागी गराउने र संस्थाको काम कारवाहीलाई पारदर्शी बनाउन योगदान दिने उनले प्रतिबद्धता जनाएका थिए ।


कार्यक्रममा बोल्दै एनआरएनए एनसीसी अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले अमेरिकाका २९ च्याप्टरमध्ये आफ्नो गृहराज्य मेरिल्याण्डको च्याप्टरले आफ्नै कार्यालय शुरु गरेकोमा गर्व महसुस भएको बताए । उनले समाजिक काममा सबैको सहभागिताका लागि आह्वान पनि गरे । त्यसैगरी अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत, प्रवासी नेपाली मञ्च,अमेरिकाका अध्यक्ष प्रभु थापा, राप्रपाका नेता प्रेम श्रेष्ठ र अन्य बक्ताहरु दुर्गा श्रेष्ठ,राजु क्षेत्री,सुभाष घिमिरे,राजेन्द्र सेन्चुरी,रमेश भट्ट,अनु वन्त,विजय श्रेष्ठ, सतिश चापागाई, डोलनाथ घिमिरेलगायतले आफ्नै कार्यालय शुरु गरेकोमा बधाइ तथा शुभकामना ज्ञापन गरेका थिए । कार्यक्रममा एनआरएन मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुलीले सबैलाई स्वागत गर्दै संस्थाको आगामी काममा सबैको सहयोगको अपेक्षा गरेको बताएका थिए । उनले नेपाली समुदायलाई सहयोग पुग्ने कार्यक्रमहरु जारी राख्ने प्रतिबद्धता पनि जनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *