बारले तिहारपछि प्रधानन्यायाधीशविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने

डिसी नेपाल
१७ कार्तिक २०७८ १३:०८
52
Shares

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले तिहारपछि आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने भएको छ।

लगातार दोस्रो दिन सर्वोच्च अदालत परिसरमा धर्ना र विरोध कार्यक्रम गरेको बारले पहिलो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न गरेको र अब २३ कात्तिकबाट निरन्तर हुने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए। ‘आजको कार्यक्रम सकियो । नयाँ कार्यक्रम घोषणा तिहारपछि, आन्तरिक छलफल भने जारी रहनेछ,’ पौडेलले भने।

यसअघि बारले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै बार उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायाधीशको राजीनामा माग गरिन्।

‘न्यायलयको सुधारका लागि बार लागेको छ। बारको प्रांगण त्यागेर सर्वोच्च पुगिसकेका छौं । न्याय शुद्वीकरणको अभियानमा अवरोध भएकाले प्रधानन्यायाधीशको राजीनामम मागेको हो । विकृति, विसंगति र भ्रष्टाचार हटाउन द्वार खोल्न पनि प्रधानन्यायाधीशको राजीनामा आउनुपर्छ,’ उनले भनिन्, ‘जुन धाराबाट आएको त्यही धाराबाट जान खोज्नुभयो भने त्यो धाराको पानीले बगाउनेछ । सम्मानजनक बहिर्गमनका निम्ति अनुरोध गर्दछौं ।’

बार उपाध्यक्ष मानबहादुर रूम्जाली राईले प्रधानन्यायाधीश जबराको राजीनामा नै बटमलाइन भएको बताए । ‘समग्र न्यायपालिको स्वतन्त्रता जवाफदेहिता स्वच्छता खोजेको हो । सेतोपट्टीवाला साथीहरू बारको विज्ञप्ति पढिदिनुस् । उहाँहरूले प्रधानन्यायाधीशको राजीनामाका लागि मात्र बारको आन्दोलन हो भन्ने भन्नु भएछ । शान्तिपूर्ण रूपमै आन्दोलन टुंग्याउन चाहन्छौ । यसका लागि राजीनामा बटमलाइन हो,’ उनले भने ।

वरिष्ठ अधिवक्ता गान्धी पण्डितले समग्र न्याय सुधारका लागि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताए । ‘अहिले विस्फोट भयो । संषर्घ पहिलेदेखि हो । चोलेन्द्र नहटाउने हो भने नयाँ आउने प्रधानन्यायाधीशलाई पनि समस्या हुन्छ । राजनीतिक नेतृत्वको राजनीतिले आज यो अवस्था आयो । प्लिज यसलाई अगाडि बढाउनुभयो भने हामी छोड्दैनौं । बहिर्गमन मात्र होइन, यो राजद्रोह पनि हो । आजको आन्दोलन चोलेन्द्र हटाउने मात्र होइन, समग्र न्याय सुधारको हो,’ उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.