स्वास्थ्यसम्बन्धी तीन ऐन संशोधनको मस्यौदा सार्वजनिक, साउन १२ भित्र सुझाव दिन मन्त्रालयको आग्रह

डिसी नेपाल
८ साउन २०८३ ९:०१

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण ऐन संशोधनका लागि तयार पारिएका विधेयकहरूको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारण तथा सरोकारवालासँग राय–सुझाव मागेको छ।

मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णयपछि आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्री वितरण) नियन्त्रण ऐन, २०४९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि तयार पारिएका विधेयकहरूको मस्यौदा सार्वजनिक गरेको हो।

इच्छुक व्यक्ति, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था तथा सम्बन्धित सरोकारवालाले साउन १२ गतेभित्र मन्त्रालयको कानून शाखाको इमेल [email protected] मा तोकिएको ढाँचाअनुसार राय तथा सुझाव पठाउन सक्ने मन्त्रालयले जनाएको छ।

स्तनपान प्रवर्द्धनमा कडाइ

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्री वितरण) नियन्त्रण ऐन संशोधनको मस्यौदामा स्तनपानको संरक्षण र प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने व्यवस्था प्रस्ताव गरिएको छ।

मस्यौदाअनुसार विशेष अवस्थाबाहेक स्वास्थ्यकर्मीले आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तु सिफारिस गर्न पाउने छैनन्। सरकारले स्तनपान व्यवस्थापन केन्द्र सञ्चालन गर्न सक्ने, प्रदेश तथा स्थानीय तहमा स्तनपान संरक्षण तथा प्रवर्द्धन समिति गठन गर्ने तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको विज्ञापन, प्रवर्द्धन र क्रस–प्रमोशनमा थप नियमन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

यसका साथै ऐन उल्लंघन गर्ने व्यक्ति वा संस्थामाथि कैद, जरिवाना तथा क्षतिपूर्तिसम्बन्धी व्यवस्थालाई पनि थप स्पष्ट बनाइएको छ।

स्वास्थ्यकर्मी र विद्यार्थीलाई कानुनी संरक्षण

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधनको मस्यौदामा स्वास्थ्यसम्बन्धी परिषद्मा दर्ता हुने विषय अध्ययन गरिरहेका विद्यार्थीलाई पनि कानुनी संरक्षणको दायरामा ल्याउने प्रस्ताव गरिएको छ।

स्वास्थ्य संस्थामा हतियारसहित आपराधिक बल प्रदर्शन गर्न रोक लगाउने, कार्यरत स्वास्थ्यकर्मीसँगै अध्ययनरत विद्यार्थीमाथि हुने हिंसा तथा अवाञ्छित गतिविधिलाई कानुनी रूपमा सम्बोधन गर्ने व्यवस्था पनि मस्यौदामा समेटिएको छ।

त्यस्तै, ऐन कार्यान्वयनलाई प्रभावकारी बनाउन मन्त्रालयलाई आवश्यक निर्देशिका, कार्यविधि तथा मापदण्ड बनाउन सक्ने अधिकार दिने प्रस्ताव गरिएको छ।

प्रसूति बिदा छ महिनासम्म पुर्‍याउने प्रस्ताव

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधनको मस्यौदामा प्रसूति सेवा दिने स्वास्थ्य संस्थाले दक्ष स्वास्थ्यकर्मी वा तालिमप्राप्त प्रसूतिकर्मीको व्यवस्था गर्नुपर्ने, सम्मानजनक प्रसूति सेवा सुनिश्चित गर्नुपर्ने तथा गर्भवती र सुत्केरी महिलामाथि हुने शारीरिक वा मानसिक हिंसालाई कानुनी रूपमा निषेध गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

मस्यौदाले हालको कम्तीमा ९८ दिनको प्रसूति बिदालाई बढाएर छ महिनासम्म पुर्‍याउने प्रस्ताव पनि गरेको छ। साथै सुरक्षित गर्भपतन सेवासम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाउने तथा विपद्को समयमा सुरक्षित मातृत्व, आकस्मिक प्रसूति, नवजात शिशुको अत्यावश्यक सेवा, परिवार नियोजन र सुरक्षित गर्भपतन सेवालाई प्राथमिकताका साथ उपलब्ध गराउनुपर्ने व्यवस्था पनि समेटिएको छ।

मन्त्रालयले प्राप्त हुने राय–सुझावका आधारमा तीनै विधेयकका मस्यौदामा आवश्यक परिमार्जन गरी थप कानुनी प्रक्रियामा अघि बढाइने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *