गायक सञ्जय श्रेष्ठको प्रश्न : अभिभावकीय दायित्व निभाउनुपर्ने कमल थापाले गद्दी त्यागेका राजालाई दोष दिने ?

डिसी नेपाल
१९ मंसिर २०७८ ९:४६
1.5k
Shares

काठमाडौं। गायक तथा राप्रपाका युवा नेता सञ्जय श्रेष्ठले अभिभावकीय दायित्व निभाउन कमल थापालाई सुझाव दिएका छन्।

अध्यक्षमा पराजित भएपछि थापाले पूर्वराजा ज्ञानेन्द्र शाह (निर्मल निवासको नांगो हस्तक्षेप)माथि दोष थुपारेपछि गायक श्रेष्ठले आपत्ति जनाएका हुन् ।

२०७० सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ मा राप्रपाबाट चुनावसमेत लडेका श्रेष्ठले हारलाई सहज रुपमा लिँदै अभिभावकीय भूमिका निभाउनुपर्नेमा गद्दी त्यागेर बसेका राजालाई दोषारोपण गर्नु उपयुक्त नभएको उल्लेख गरेका छन् ।

‘पार्टीको यतिका बर्षसम्म अध्यक्ष जस्तो गरिमामय पदमा बस्नुभएका व्यक्तिबाट अभिभावकीय दायित्व निभाउँदै नव निर्वाचितहरुलाई खुशीसाथ बधाई र शुभकामना दिनुको साटो यस्तो खालको पूर्वाग्रह राख्दै आफ्नो हारको दोष जनता र देशको लागि गद्दी त्यागेर बसेका राजालाई दिने?’ उनले प्रश्न गरेका छन्, ‘हारलाइ सहज रुपमा लिनु पो उदाहरणीय हुने थियो ।’

राप्रपालाई २६ सिट दिलाउन र थापालाई उपप्रधानमन्त्री बनाउन अरुजस्तै आफूले पनि २०७० मा चुनाव लडेको र त्यतिबेलाको हारलाई आफूले सहज रुपमा लिएको स्मरण गर्दै प्रश्न गरेका छन्, ‘तपाईजस्तो व्यक्तिले यस्तो लेख्न सुहायो त ? अरुलाइ दोष दिनु अघि आफ्नो दोष केलाउनुस ।’

थापाको हारको कारणमा सञ्जयले अनुमान गरेका छन्, ‘कतै त्यो बेला जनताले दिएको म्यान्डेट बिर्सेर उपप्रधानमन्त्री बन्ने दौडमा विदेशीले लादिदिएको यो संविधानलाई तपाईले ‘विश्वकै उत्कृष्ट’ भन्नुभएको परिणाम त हैन ?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.