बेलायतमा ‘ओमिक्रोन संकटकाल’ घोषणा
काठमाडौं। यस हप्ताबाट १८ वर्षभन्दा अधिक उमेरका सबैलाई कोरोना खोपको बुस्टर डोज दिइने बेलायती प्रधानमन्त्री बोरिस जोनसनले घोषणा गरेका छन् । देशमा ‘ओमिक्रोन संकटकाल’ घोषणा गर्दै प्रधानमन्त्री बोरिस जोनसनले यस्तो घोषणा गरेका हुन् । टेलिभिजनमार्फत जारी गरिएको बयानमा प्रधानमन्त्री जोनसनले भने ‘ओमिक्रोनको लहर आइरहेको छ र यसमा कसैलाई पनि शंका हुनु हुँदैन ।’
उनका अनुसार यो महिनाको अन्त्यसम्म सबै इच्छुक वयस्कहरुलाई बुस्टर डोज दिने लक्ष्य राखिएको छ । बुस्टरमा केन्द्रित भएर अगाडि बढ्नको लागि केही मेडिकल अपोइन्टमेन्टहरु पनि स्थगित गर्न सकिने विश्वास गरिएको छ । आइतबार बेलुकी दिएको आफ्नो बयानमा प्रधानमन्त्री जोनसनले भने ‘नयाँ ओमिक्रोन भाइरसको फैलिइरहेको संक्रमणलाई दृष्टिगत गर्दै बेलायतमा कोभिड अलर्टलाई चौथो स्तरमा बढाइएको छ ।’
चौथो स्तरको अर्थ हो संक्रमण निकै धेरै छ वा लगातार बढ्दै गइरहेको छ । पछिल्लो पटक बेलायतमा चौथो स्तरको अलर्ट गएको मे महिनामा जारी गरिएको थियो । जोनसनले भने ‘हामी नयाँ ओमिक्रोनसँगको युद्धमा एक आपतकालीन स्थितिको सामना गरिरहेका छौं । यो स्पष्ट भइसकेको छ कि खोपको दुई डोज सुरक्षाको लागि पर्याप्त छैन । तर, राम्रो कुरा यो हो कि हाम्रा वैज्ञानिकहरुलाई विश्वास छ कि तेस्रो डोज अर्थात बुस्टर संक्रमणबाट बचाउन प्रभावकारी हुन सक्छ ।’







डिसी नेपाल







Facebook Comment