चीनले आणविक मिसाइल भेनेजुएला ल्याएर नजिकैबाट अमेरिकालाई हान्न सक्ने त्रास

डिसी नेपाल
२७ मंसिर २०७८ १५:२५
8.3k
Shares

काठमाडौं। चीनले आफ्नो आणविक मिसाइल शिपिङ कन्टेनरमा राखेर दक्षिण अमेरिकाका बन्दरगाहसम्म लैजाने र अमेरिकालाई आकस्मिक आक्रमण गर्न सक्ने विशेषज्ञहरुले चेतावनी दिएका छन् । सैन्य विश्लेषकहरुले बेइजिङले चुपचाप बनाइरहेका कन्टेनरहरुबारे यस्तो चेतावनी दिएका हुन् । चीनले आफ्नो अन्तरिक्ष कार्यक्रमसँगै दोहोरो प्रयोजनका हतियार बनाइरहेको पश्चिमा देशहरुले दावी गरेका छन् ।

पश्चिमी देशहरुका अनुसार चीनले अहिले स्याटेलाइट अन्तरिक्षमा पठाउनको लागि ठूलो संख्यामा बनाइरहेका रकेटहरुलाई प्रयोगपछि आणाविक क्षमताका मिसाइलमा परिणत गर्न सकिन्छ । इन्टरनेशनल एसेस्मेन्ट एण्ड स्ट्राटेजी सेन्टरमा बरिष्ट एसियाली सैन्य मामिलाका फेलो रिक फिसरले बेलायतको मिडिया द सनसँग कुरा गर्दै चीनले ती हतियारहरु दक्षिण अमेरिकासम्म तस्करी गर्न सक्ने बताएका छन् ।

युएस प्यासिफिक फ्लीटका पूर्व इन्टेलिजेन्स प्रमुख क्याप्टेन जेम्स फनेलले पनि अन्तरिक्ष रकेट प्रयोगपछि सैन्य प्रयोगका लागि परिणत गर्नकै लागि बनाइएको दावी गरे । हेनरी ज्याक्सन सोसाइटीका चीन विज्ञ साम अर्मस्ट्रङले पनि चीनले विश्वभर तस्करी गर्ने हतियारहरुमध्ये यी कन्टेनर मिसाइलहरु प्रमुख हुने बताए । उनले चीनले यस्ता हतियारहरु भेनेजुएला जस्ता अस्थिर देशहरुमा तस्करी गर्न सक्ने औंल्याए ।

चीनले पनि आफ्ना कन्टेनर मिसाइल हतियारबारे यसअघि नै संकेत दिइसकेकाने छ । निजी फर्म वनस्पेसले केही समयअघि आफ्नो ओएस–एमटु प्रक्षेपण वाहन सार्वजनिक गरेको थियो । यसबाट ३१ टनको रकेट अन्तरिक्षमा प्रक्षेपण गरिन्छ । यो भिडियोमा रकेट कन्टेनरमा लोड गरिएपछि बाहिरबाट देख्न सकिएको थिएन । यसलाई ट्रक, ट्रेन, विमान वा पानीजहाजबाट प्रक्षेपण गर्नुअघि रकेट लुकेर रहेको थियो ।

यी हतियारहरु चीनसँग मित्रवत सम्बन्ध रहेका दक्षिण अमेरिकी देशहरु पनामा वा भेनेजुएलामा तैनाथ गर्न सकिने र यसले क्युबाली मिसाइल संकटको अवस्था आउन सक्ने आशंका गरिएको छ । सन् १९६२ मा अमेरिकाले इटली र टर्कीमा आफ्ना मिसाइल तैनाथ गरेपछि जवाफमा सोभियत युनियनले अमेरिकाको छेउमै क्युबामा आफ्नो मिसाइल तैनाथ गरेको थियो । यसलाई क्युबाली मिसाइल संकट भनिन्छ ।

दक्षिण अमेरिकी देश पनामामा केही बन्दरगाह चीनको नियन्त्रणमा छन् भने भेनेजुएला पनि चीनको सहयोगी हो । यस्तोमा चीनको ओएस–एमटुमा आधारित इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइलहरु ती बन्दरगाहहरुमा कन्टेनरमा लुकाएर राखिएको हुन सक्ने अवस्थालाई अस्वीकार गर्न नसकिने फिसरले बताए । ‘वनस्पेस भिडियोले प्रस्ट पारेजस्तै उनीहरुको कन्टेनरमा राखिएको मिसाइल ठूला कार्गो जहाजमा वा बोइङ ७४७ कार्गो विमानहरुमा समेत तैनाथ गरिएको हुन सक्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *