विमानस्थलमा २ वटा सिंह पिंजडाबाट भागे, आतंकित यात्रुहरुको भागाभाग
काठमाडौं। सिंगापुरको चांगी विमानस्थलमा आइतबार २ वटा सिंह आफ्नो पिंजडाबाट बाहिर निस्किए । सिंह बाहिर निस्किएपछि त्यहाँ भएका यात्रुहरुमा आतंक फैलियो । सिंहहरु बाहिर निस्किएपछि उनीहरुलाई बेहोस पार्नको लागि ट्रेंक्विलाइजर बन्दुकको प्रयोग गर्नुपरेको थियो ।
सिंगापुरको अखबार द स्ट्रेटस टाइम्सका अनुसार बेहोस पारिएका सिंहहरु अहिले होसमा आएका छन् । उनीहरुलाई मंडाइ वन्यजीव समूहको रेखदेखमा राखिएको छ । खासमा ती सिंहहरुलाई एउटा कन्टेनरमा राखेर विदेश लैजान लागिएको थियो । तर, अचानक उनीहरु स्वतन्त्र भएपछि विमानस्थलमा आतंक फैलिएको थियो ।
अहिलेसम्म यी सिंहहरुलाई कहाँ लैजान लागिएको थियो भन्ने स्पष्ट हुन सकेको छैन । यद्यपि यी दुई सिंहहरु ती ७ सिंहहरुमध्येका थिए जसलाई लैजाने जिम्मेवारी सिंगापुर एयरलाइन्सलाई दिइएको छ । जानकारी अनुसार एउटा सिंह पिंजडाबाट बाहिर आएपछि पिंजडामाथि गएर सुतेको थियो ।

सुरक्षा अधिकारीहरुले कन्टेनरको चारैतिर समेत जाल लगाइएकोले सिंहले सुरक्षा घेरा नतोडेको दावी गरेका छन् । विमानस्थलमा जहाजको उडान र अवतरणमा पनि कुनै समस्या आएन । रिपोर्टका अनुसार पिंजडाबाट बाहिर आएपछि दुवै सिंह मानिसहरुतिर बढ्न थालेका थिए जसका कारण त्यहाँ भएका यात्रुहरु आतंकित भएका थिए ।
सिंहहरुले कसैलाई आक्रमण गर्न नपाउँदै उनीहरुलाई बेहोस पारिएको थियो । सिंगापुर एयरलाइन्सले घटनाको जाँच भइरहेको बताएको छ । मंडइ वन विभागले भनेको छ ‘सिंहहरुको निगरानी भइरहेको छ । उनीहरु केही समयका लागि हाम्रो रेखदेखमा रहनेछन् ।’ विमानस्थलमा रहेका यात्रुका अनुसार उनीहरुलाई सिंहले कसै न कसैमाथि आक्रमण गर्छन् भन्ने लागेको थियो ।







डिसी नेपाल







Facebook Comment