अफगान पूर्वराष्ट्रपतिले भने ‘तालिबान बलपूर्वक काबुल छिरेका होइनन्, मैले बोलाएको हुँ’
काठमाडौं। अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाइले तालिबान बलपूर्वक राजधानी काबुलमा प्रवेश गरेको नभइ आफूले तालिबानलाई राजधानी काबुलमा प्रवेश गर्न भनेको बताएका छन् । कारजाइले समाचार एजेन्सी एसोसिएटेड प्रेसलाई दिएको एक अन्तरवार्तामा आफूले काबुलमा भइरहेको हिंसा र लुटपाट रोक्नको लागि तालिबानलाई काबुल प्रवेश गर्न भनेको बताए ।
उनले भने ‘तालिबान नेताहरुले हामीलाई आश्वासन दिएका थिए कि उनीहरुका लडाकु राजधानी काबुलमा प्रवेश गर्ने छैनन् । तर, अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ गनी आफ्ना सबै बरिष्ठ अधिकारीहरुको साथमा अचानक काबुलबाट गए र तालिबानसँग सम्झौता हुन सकेन ।’ यसै वर्ष अगष्टमा अमेरिकी सेना गएपछि तालिबानले अफगानिस्तानमा कब्जा गरेको थियो र तत्कालीन सरकारलाई सत्ताबाट हटाएको थियो ।
तालिबान लडाकुहरुले एक–एक गरेर काबुल आसपासका क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएका थिए र उनीहरु राजधानी काबुलको बाहिर आएर रोकिएका थिए । त्यतिबेला तालिबान लडाकुहरु जुनसुकै समयमा राजधानीमा प्रवेश गर्न सक्ने आशंका गरिएको थियो । त्यतिबेला अशरफ गनीले अचानक काबुल छोडे र तालिबानले १५ अगष्टमा काबुल पनि कब्जा गरे ।
तालिबानले त्यतिबेला नै राजधानीमा प्रवेश गर्ने आफ्नो कुनै योजना नभएको बताएको थियो । सहरमा अस्तव्यस्तता र लुटपाट हुन थालेपछि आफूहरु काबुल प्रवेश गर्नुपरेको तालिबानले बताएको थियो । हमिद कारजाइले पनि भनेका छन् ‘अफगानिस्तानमा सरकारी संरचना र सुरक्षा एजेन्सीहरु पंगु भएका थिए । त्यसैले मैले स्वयं तालिबानलाई काबुलमा आउन निम्ता दिएको थिएँ ।’
कारजाइका अनुसार उनी र अर्का पूर्व राष्ट्रपति अब्दुल्लाह अब्दुल्लाह दोहामा रहेका तालिबान नेताहरुसँग सम्पर्कमा थिए । त्यतिबेला तत्कालीन सरकारसँग राजनीतिक सम्झौतापछि मात्र तालिबान राजधानी प्रवेश गर्ने योजना थियो । उनले भने ‘तालिबानसँग राजनीतिक सम्झौताको लागि अन्तिम निर्णय गर्न म र अब्दुल्लाह १५ अगष्टमा दोहा जाने योजना थियो ।’ कारजाइका अनुसार दिउँसो नै राष्ट्रपति गनीले देश छोडेको हल्ला चल्न थाल्यो ।
उनले गृह मन्त्रीसँग कुरा गर्दा काबुल पुलिस प्रमुख सहित सबै अधिकारी राजधानीबाट गएको र सत्तामा कोही नभएको थाहा भयो । कारजाइका अनुसार यदि राष्ट्रपति गनी देशमै बसेको भए तालिबानसँग सम्झौता गर्ने र एउटा प्रणाली बनाउने सम्भावना रहन्थ्यो । कारजाइले भने ‘अफ अफगानिस्तानमा तालिबानको नियन्त्रण छ । अन्तर्राष्ट्रिय समुदायले तालिबानसँग वार्ता गरेर मानवीय विनाश रोक्नुपर्छ ।’
कारजाइका अनुसार तालिबानलाई कहिलेकाहीँ गलत तरिकाले पेश गरिन्छ । अफगानिस्तानमा महिलाहरु घरबाट निस्किन पाउँदैनन् भन्ने कुरा गलत भएको उनले बताए । कारजाइका अनुसार उनले तालिबानलाई अहिलेको संकटबाट निस्किन एउटा योजना दिएका छन् । यो योजनामा लोया जिरगाको आयोजना र पूर्व शासक मोहम्मद जहीर शाहको समयको संविधानको अस्थायी रुपले लागू गर्ने जस्ता कुरा छन् । लोया जिरगाले आगामी सरकार, संविधान र राष्ट्रिय झण्डाको निर्णय गर्नेछ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment