पाकिस्तानी सेना र तालिबानी सेनाबीच झडप, पाकिस्तानी सेनाद्वारा गोलीबारी
काठमाडौं। पाकिस्तानी सेना र अफगानिस्तानको तालिबानी सेनाबीच झडप भएको छ । तालिबानी सेनाले पाकिस्तानी सेनालाई सीमामा तारबार गर्न रोकेका छन् । पाकिस्तानले अफगानिस्तानको विरोधका बीच २६०० किलोमिटरको सीमाको अधिकांश क्षेत्रमा तारबार गरिसकेको छ । जहाँ पाकिस्तानले तारबार लगाएको छ त्यहाँ बेलायतको शासनकालदेखि नै सीमा विवादित छ । यो तारबारले त्यहाँका स्थानीयका परिवार र आदिवासीहरुलाई पाकिस्तान र अफगानिस्तानतर्फ विभाजित गर्छ ।
अफगान रक्षा मन्त्रालयले पाकिस्तानको तर्फबाट भइरहेको तारबारलाई गैरकानुनी भनेको छ । रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह ख्वारजमीले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै भने ‘तालिबान सैनिकले पकिस्तानी सेनालाई पूर्वी प्रान्त नांगरहारमा एक अवैध सीमा घेराबन्दी लगाउनबाट रोकेका छन् ।’ घटना आइतबारको हो । उनले अहिले भने त्यहाँको स्थिति सामान्य भएको बताए । पाकिस्तानी सेनासँग रोयटर्सले यसबारेमा सोधेको थियो तर कुनै प्रतिक्रिया दिइएन ।
सामाजिक संजालमा शेयर गरिएको एक भिडियोमा तालिबान सैनिकहरुले पाकिस्तानी सैनिकबाट काँडेतारको बण्डल जफत गरेको देख्न सकिन्छ । भिडियोमा एक बरिष्ठ अधिकारीले सुरक्षा चौकीमा तैनाथ पाकिस्तानी सैनिकहरुलाई फेरि सीमामा तारबार लगाउने कोसिस नगर्न चेतावनी दिएका छन् । तालिबानका २ अधिकारीले पहिचान नखुलाई पाकिस्तानी अखबार डनसँग तालिबान र पाकिस्तानी सेना आमनेसामने भएको र स्थिति तनावपूर्ण भएको बताए ।
ती अधिकारीका अनुसार घटनापछि बुधबार पाकिस्तानी सेनाले अफगानिस्तानको कुनार प्रान्तमा गोलीबारी गरेको छ । पाकिस्तानले सीमा विवादका कारण गोलीबारी गरेको थियो वा अन्य कारणले भन्ने स्पष्ट छैन । अधिकारीका अनुसार गोलीबारीपछि अफगानी सेनाका हेलिकप्टरले कुनार प्रान्तमा गश्ती गरिरहेका छन् ।







डिसी नेपाल







Facebook Comment